प्रतिलिटर ३ रुपैयाँका दरले घट्यो पेट्रोल र डिजेलको मूल्य

आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाउने निर्णय गरेको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो। 

निगमले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको जनाएको हो। नयाँ मूल्यअनुसार निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ तोकेको छ। यस्तै, डिजेल तथा मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ निर्धारण गरिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ। डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३.१५ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.६२ रुपैयाँ घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिमा खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य घटबढबारे भने उल्लेख छैन।