व्यापार युद्ध गहिरिँदै जाँदा चीनले रोक्यो बोइङका जहाजको ‘डेलिभरी’

ब्लुमबर्गको रिपोर्टअनुसार चीनले एयरलाइन्सहरूलाई अमेरिकी कम्पनीहरूबाट विमानसँग सम्बन्धित उपकरण र पार्टपुर्जा खरिद पनि रोक्न निर्देशन दिएको छ।

चीन र अमेरिकाबीच व्यापार युद्ध गहिरिँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्स कम्पनीलाई अमेरिकी विमान निर्माता बोइङका जहाजको ‘डेलिभरी’ रोक्न निर्देशन दिएका छन्। अमेरिकासँगको व्यापार युद्धको पछिल्लो कदमका रूपमा चीनले अमेरिकी विमान निर्माता कम्पनीका जहाजमा रोक लगाएको हो।

जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहणयता विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन प्रतिशोधात्मक भन्सार युद्धमा फसेका छन्। अमेरिकाले चीनबाट हुने आयातमा १४५ प्रतिशतसम्म कर लगाएको छ। यता चीनले अमेरिकी आयातमा १२५ प्रतिशतको प्रतिशोधात्मक भन्सार शुल्क लगाएको छ।

चीनले बोइङ विमानको डेलिभरी रोक्न एयरलाइन्सलाई आदेश दिएको बारे यस मामिलासँग परिचित व्यक्तिलाई उद्धृत गर्दै ब्लुमबर्ग न्युजले मंगलबार समाचार प्रकाशन गरेको हो।

बेइजिङले आफ्ना हवाई कम्पनीलाई अमेरिकी कम्पनीबाट विमानसम्बन्धी उपकरण र पुर्जा पनि खरिद नगर्न निर्देशन दिएको विभिन्न व्यक्तिहरूलाई उद्धृत गर्दै वित्तीय समाचार आउटलेटले लेखेको छ।

चिनियाँ एयरलाइन्सहरूमार्फत उडान भर्न लगभग १० वटा बोइङ ७३७ म्याक्स जेट तयार हुँदै छन्। तर चिनियाँ ‘पारस्परिक’ शुल्क लागू हुनुअघि तीमध्ये ‘डेलिभरी’ कागजी कार्य र भुक्तानी पूरा गरेका विमानलाई भने देशमा प्रवेश गर्न रोक नलगाइने स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएको छ।