पीएसजी र बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३-२ ले पराजित भए पनि पहिलो लेगको जितले पीएसजी अघि बढ्न सफल रह्यो। 

काठमाडौँ– पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन्। 

पीएसजीले एस्टन भिल्ला र बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई हराउँदै अन्तिम चारमा पुगेका हुन्। मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३-२ ले पराजित भए पनि पहिलो लेगको जितले पीएसजी अघि बढ्न सफल रह्यो। 

पहिलो लेगमा ३-१ ले विजयी भएको पीएसजी समग्रमा ५-४ को नतिजासहित अन्तिम चारमा पुगेको हो। 

यस्तै, बार्सिलोना समग्रमा ५–३ को जितसहित सेमिफाइनलमा पुगेको छ। मंगलबार राति भएको दोस्रो लेगमा बोरुसिया डर्टमन्डसँग बार्सिलोना ३-१ ले पराजित भयो। तर पहिलो लेगमा बनाएको ४-० को बलियो अग्रताले‌ बार्सिलोना अघि बढ्न सफल भयो।