विद्यार्थी अभाव भएको भन्दै उत्तरी इलामका सामुदायिक विद्यालय बन्द भएपछि यहाँका बालबालिका भारतमा गएर पढ्न बाध्य छन्।
इलाम– वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो। यहीबेला देशभरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा छन्। सरकारले माग सम्बोधन गरेपछि शिक्षक फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला। तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन। आफ्नो ठाउँमा विद्यालय नै नभएपछि आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको छ।
“शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन्। हामी त बच्चा पढाउन भारत जानुपर्छ”, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भनिन्, “गाउँमा एउटा विद्यालय छैन। अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर कसैले बुझेनन्।” उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावकले बालबच्चा भारतको विभिन्न विद्यालयमा पढाउनुपर्ने बाध्यता छ। जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत गाउँका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ।
विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालय बन्द भएपछि भारतीय सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य छन्। पातलो बस्ती र जनघनत्व पनि कम भएका यी ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता छ। “घरबाट धाएर पुर्याउँदा टाढा हुन्छ। गत सालदेखि आफू उतै कोठामा बसेर नातिनी पढाइरहेकी छु”, सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६९ वर्षीय निम लमुले भनिन्।
जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो। कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द गरिएको थियो। “सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे। त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन,” उनले भनिन्।
अहिले यस क्षेत्रबाट करिब १५ जना बालबालिका माने भञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन्। महिनाको भारु १८ देखि २० हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले बताइन्। माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको छ।
भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिए। यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषय नेपाली बालबालिकाले थाहा नपाउने लामाको दुखेसो छ। बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन्।
जौबारीको राष्ट्रिय प्राविमा भने एक वर्षअघि सशस्त्र प्रहरी बसेको थियो। उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ। सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकार भएका निकायले चासो देखाएका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
