अमेरिकासँग कर विवाद बढेसँगै चीनले नियुक्त गर्‍यो नयाँ व्यापार दूत

विश्व व्यापार संगठनका लागि बेइजिङका राजदूत र संयुक्त राष्ट्रसंघका लागि उपस्थायी प्रतिनिधिका रूपमा काम गरिसकेका ५८ वर्षीय ली कुशल कूटनीतिज्ञ मानिन्छन्।

अमेरिकासँगको कर विवाद बढ्दै गएका बेला विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ व्यापार दूत नियुक्त गरेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कर वृद्धिको विरोधमा चीनले प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै ली चेङगाङलाई नयाँ दूत नियुक्त गरेको हो। 

बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार लीले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि र वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नेछन्।  

यसअघि विश्व व्यापार संगठनका लागि बेइजिङका राजदूत र संयुक्त राष्ट्रसंघका लागि उपस्थायी प्रतिनिधिका रूपमा काम गरिसकेका ५८ वर्षीय लीलाई कुशल कूटनीतिज्ञका रूपमा हेर्ने गरिएको छ।  

उनलाई वाङ शौवेनको उत्तराधिकारीका रूपमा जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ। वाङले सन् २०२० मा चीन र अमेरिकाबीच व्यापार सम्झौता गर्ने वार्तामा भाग लिएका थिए। 

ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण थालेपछि बेइजिङ र वासिंटनबीच करबारे चर्काचर्कीको खेल शुरू भएको छ।

प्रतिशोधका कारण चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशत पुगेको छ भने अमेरिकी सामानमा बेइजिङको कर १२५ प्रतिशत पुगेको छ।

चीनले आफ्नो अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.४ प्रतिशतले वृद्धि भएको बुधबार जनाएको छ। जुन अपेक्षाभन्दा माथि भएको जनाइएको छ।