फोहोर व्यवस्थापनमा एभरेस्ट अस्पतालको लापरबाही, काठमाडौँ महानगरले गरायो ५० हजार जरिबाना

हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ बमोजिम जरिबाना गराइएको हो।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिबाना गराएको छ। 

फोहर व्यवस्थापनको अनुगमनका क्रममा हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ बमोजिम जरिबानाको पत्र पठाइएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन्। 

ऐनबमोजिम रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, जोखिमपूर्ण फोहरमैला वा जथाभाबी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ। 

यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिबाना गरेर प्रचलित कानूनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ।