नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

बुधबार नेप्से ७.०१ अंकले बढेर २,६९६.२३ विन्दुमा पुगेको हो। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ।

काठमाडाैँ– शेयरबजार परिसूचक नेप्से बुधबार सामान्य बढेको छ। आज नेप्से ७.०१ अंकले बढेर २,६९६.२३ विन्दुमा पुगेको हो।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार साढे ८ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३२९ स्टकको १ करोड ६६ लाख ११ हजार कित्ता शेयर खरिदबिक्रीमा ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

आज ५ स्टकको शेयरमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, बाराही हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र राधी विद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट तहमा कारोबार भएको हो। त्यस्तै, ङादी ग्रुप पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ५.५५ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत बढेको छ। यस्तै, विकास बैंक उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले घटेको छ।