इराकमा बेचिन्छन् नेपाली महिला, फर्काउनै मुस्किल

सरकारले रोजगारीमा जान प्रतिबन्ध लगाएको इराक पुर्‍याएर मानव तस्करहरूले नेपाली महिलालाई घरेलु कामदारको रूपमा बेच्ने गरेका छन्। कागजपत्र नहुँदा त्यहाँ फसेका नेपाली बन्धक बन्नुपरेको छ।

काठमाडौँ– रमिला रसाइली नामको टिकटक एकाउन्टबाट २०८१ कात्तिकमा आफूलाई उद्धार गर्न भन्दै तीन वटा भिडियो पोस्ट भए। उनले रुँदै बनाएका भिडियोमा आफूलाई दलालले झुक्याएर इराक पुर्‍याएको र त्यहाँ यातना दिइएको सुनाएकी थिइन्।

“नेपालको एजेन्टले मलाई इराक ल्याएर अरबीको घरमा बेचिदियो,” भिडियोमा उनले भनेकी थिइन्, “म यहाँ नर्कको जीवन बाँचीरा’छु। मालिकले राम्रोसँग खान दिँदैन। दिनरात कुट्नेपिट्ने गर्छ। मलाइ यहाँबाट निकाल्नुस्, छिटो उद्धार गर्नुस्।”

उनलाई २०८१ असारमा नेपालबाट कामदार जान प्रतिबन्धित मुलुक इराक पुर्‍याइएको थियो। श्रीमानको मृत्युपछि आर्थिक अभावसँग जुधिरहेको अवस्थामा दलालले राम्रो कामको प्रलोभन देखाएर इराक पुर्‍याएको उनले बताएकी छन्। त्यहाँ पुर्‍याए लगतै उनलाई एक जना अरबीको घरमा कामदारको रूपमा ५ हजार डलरमा बेचिएको थियो।

अरबीको घरमा दैनिक १६ घण्टासम्म काम गर्थिन्। “न आराम गर्न दिन्छ, न खान। त्यति गर्दा पनि मालिक खुशी हुँदैन। भाषा नबुझेर काम बिग्रन्छ,” उनले भनेकी थिइन्, “त्यो बेला आइरन तताएर हातमा पोल्दिन्छ। साहु साह्रै निर्दयी छ।”

उनले परिवारसँग सम्पर्क गर्न नपाएको र लुकेर भिडियो बनाएको बताएकी थिइन्। “परिवारसँग पनि कुरा गर्न दिँदैन, मोबाइल खोसिदिन्छ” उनले भनेकी थिइन्, “घर पठाइदेऊ भन्दा धम्काउँछ, यातना दिन्छ।” 

कात्तिक १८ सम्म उनले टिकटकमा भिडियो राखेकी थिइन्। तर अहिले ती भिडियो भेटिँदैनन्।
***
भिजिट भिषामा २०८१ वैशाखमा दुबई पुगेपछि त्यहाँबाट उड्नुअघि गोरखाकी प्रतिभा विश्वकर्मालाई किर्गिस्तान लैजाने बताइएको थियो। तर उनी त्यति बेला छाँगाबाट खसेजस्तै भइन्, जति बेला दुबईबाट कुर्दिस्तान पुर्‍याइयो। कुर्दिस्तान इराकमा पर्छ। धादिङकी स्थानीय एजेन्ट तारा वलीको विश्वासमा उनी ‘किर्गिस्तान’ जान तयार भएकी थिइन्।

उनलाई इराक पुर्‍याएपछि घरेलु कामदारका रूपमा बेचिएको थियो। घरमा काम गर्ने क्रममा उनले मानसिक र शारीरिक हिंसा भोग्नुपरेको थियो, जसले उनलाई डिप्रेसनसम्म पुर्‍यायो। तर अझै स्वदेश फर्किन नपाएको श्रीमान् वासु बताउँछन्।

वासुका अनुसार उनी मानसिक रूपमा विक्षिप्त छिन्। “मान्छे देख्दा डराउने, झस्किने, अत्तालिने गर्छिन्” श्रीमतीसँग सम्पर्कमा रहेका उनी भन्छन्, “यहाँबाट जाँदा ठिकै थियो, उता पुगेपछि यस्तो भयो।”

उनले हरदिन नेपाल रहेका श्रीमान्लाई फोन गरेर रुँदै आफ्नो उद्धार गर्न भन्छिन्। वासु आफै पनि श्रीमतीको उद्धारको पर्खाइमा छन्।
***
भारतमा मजदुरी गरिरहेका श्रीमानको कमाइले मात्रै घरव्यवहार चलाउन मुस्किल भइरहेको थियो। यस्तैमा एक जना आफन्तले दाङकी निर्मला (२६) लाई स्थानीय एजेन्ट किसन विकसँग भेट गराइदिइन्। विक गौरीशंकर ओभरसिज नामक म्यानपावर कम्पनीको एजेन्ट थिए।

विकले उनलाई फ्रि भिसामा जाने हुँदा पैसा नलाग्ने भन्दै प्रलोभन देखाए। घरेलु काममा जाने र घरमा गरेजस्तै काम भएकाले दुःख नहुने, कमाइ मासिक ४५ हजार रुपैयाँ हुने बताएका थिए। 

तिनै एजेन्ट विकले पासपोर्ट बनाइदिनेदेखि हवाई टिकटसम्मको खर्च बेहोरे। निर्मलाको हातमा २०७९ असार १८ गते भिजिट भिसा आइपुग्यो। उनलाई सिकाइयो, ‘एअरपोर्टमा सोध्दा श्रीमानलाई भेट्न दुबई जान लागेको भन्नू।’

एयरपोर्टमा उनीसँगै १० जना महिला थिए। उनीहरूले एजेन्ट विकले सिकाए झैँ उत्तर दिए र त्रिभुवन विमानस्थल हुँदै दुबईका लागि उडे। दुबईबाट निर्मलालाई इराक पुर्‍याइयो।

इराकमा एउटा घरमा राखियो, त्यहीँबाट एक जना अरबीले लगे। उनले घरमा दैनिक १६ घण्टाभन्दा बढी काम गर्थिन्। पहिलेपहिले दुई छाक खान पाउँथिन्, तर बिस्तारै एक छाक मात्र दिन थाले। कुटपिट हुन थाल्यो। हुँदाहुँदा शारीरिक शोषण पनि भयो। 

नेपालमा आफ्नो परिवारसँग सम्पर्क गर्न नदिने, शारीरिक र मानसिक यातना दिने घर मालिकको व्यवहारले बिरामी परिन्। “बिरामी भए पनि आराम नपाइने। मैले त्यहाँ जिउँदै नर्क देखेँ,” उनी भन्छिन्, “डिप्रेसन भएपछि मैले रोइकराइ गरेर घर पठाइदेऊ भनेँ, तर मालिकले मानेन।” 

त्यहाँ चार महिना बिताएपछि एक दिन उनी भाग्न सफल भइन्। भागेर नेपाली दूतावासको सम्पर्कमा पुगिन्। अनि परिवारसँग सम्पर्क भयो। उनी २०८० जेठमा घर फर्किन सफल भइन्।

प्रतिबन्धित मुलुकमा मानव तस्करी 
सरकारले श्रमिकको सुरक्षा संवेदनशीलताको कारण वैदेशिक रोजगारीमा इराक जान प्रतिबन्ध लगाएको छ। २०६१ सालमा १२ नेपालीको हत्या भएपछि सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो। त्यसयता २०६७ सालमा केही समय खुला गरे पनि पुनः प्रतिबन्ध लगाइएको छ।

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदी सरकारले इराकको श्रम स्वीकृति नदिने बताउँछन्। “प्रतिबन्ध लगाइएको देशमा कुनै पनि बाहानामा रोजगारीका लागि जानु गैरकानूनी हो,” उनी भन्छन्।

वैधानिक हिसाबले जान सरकारले प्रतिबन्ध लगाए पनि गैरकानूनी रूपमा इराक पठाउन कतिपय म्यानपावर र दलालहरू सक्रिय छन्। यसरी मानव तस्करी गर्दा महिलाहरूलाई घरको सजिलो काम गर्नुपर्ने र राम्रो कमाइ हुने लोभ देखाइन्छ। प्रायः भिजिट भिसामा यूएई लगेर त्यहाँबाट इराक पुर्‍याइन्छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पहिले भारतको बाटो भएर महिलाहरूलाई इराक पुर्‍याइन्थ्यो। अहिले एजेन्टहरूले सोझै नेपालको अध्यागमनमा सेटिङ मिलाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई हुँदै इराक पुर्‍याउँछन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवर नेपालका स्थानीय एजेन्टहरूले आर्थिक अवस्था कमजोर भएका र समस्यामा परेका महिलाहरूलाई प्रलोभन देखाउने गरेको बताउँछन्। “राम्रो जागिर दिलाइदिने आश्वासन देखाएर महिलाहरूलाई तस्करहरूले इराक लगिरहेका छन्,” उनी भन्छन्, “नेपालदेखि नै फैलिएको तस्करहरूको सञ्जालमार्फत भिजिट भिसामा दुबई हुँदै इराक पुर्‍याएर घरेलु कामदारका रूपमा बेचिन्छ।” 

बन्धक, श्रम शोषण र यौन हिंसा 
मकवानपुरकी रिता नगरकोटीलाई २०८० माघमा दुबई हुँदै इराक पुर्‍याइएपछि ६ महिना बन्धक बनाइयो। इराक पुर्‍याएपछि त्यहाँका एजेन्टले उनलाई कुर्दिस्तानस्थित नाज शहरको ‘बर्जा कोस्क’ नामक घरेलु कामदार आपूर्ति गर्ने कम्पनीलाई बुझाए। 

रितासँगै त्यहाँ अरू पाँच महिलालाई बन्धक बनाइएको थियो। रिताका श्रीमान् जोनका अनुसार ती महिलालाई घरको काम लगाइदिने भन्दै इराक पुर्‍याइएको थियो। रितालाई नेपालबाट इराक पठाउने एजेन्ट मकवानपुरकै बिना लामा हुन्।

लामाले उनलाई मासिक ४० हजार रूपैयाँ तलब हुने प्रलोभन देखाएकी थिइन्। आर्थिक समस्याले पिरोलेपछि उनी २०८० माघ अन्तिममा इराकतर्फ लागिन्।

उनीसहित आठ महिलालाई भिजिट भिसामा त्रिभुवन विमानस्थलबाट दुबई हुँदै इराक लगिएको थियो। श्रीमान् जोनका अनुसार ६ महिना बन्धक बनाएपछि रितालाई इराकबाट कुनै एक अरबीको घरमा घरेलु श्रमिकका रूपमा बेचियो। तर शारीरिक यातनाका कारण उनी बिरामी परिन्। पछि उनी भागेर त्यही घरेलु कामदार आपूर्ति गर्ने कम्पनीमा पुगिन्।

उक्त कम्पनीमा उनले आफूलाई घर फर्काइदिन आग्रह गरिन्। तर घर फर्काउन मानेनन्। त्यति बेला उनी बिरामी थिइन्। “बन्द कोठामा थुनेर राखेका रहेछन्,” जोन भन्छन्, “त्यहाँबाट सजिलै निस्कन दिएनन्। महिनौँ मानसिक र शारीरिक यातना दिएर राखे।”

त्यहाँका एजेन्ट भने उनलाई फेरि अरबीको कामदारमा रूपमा बेच्न चाहन्थे। त्यही कारण घर फर्कन नदिई बन्धक बनाएर राखे। बरु, ६ लाख दिए मात्रै घर फर्काइदिने भन्न थाले।

श्रीमतीको उद्धारका लागि जोनले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिए। अहिले पनि उनी श्रीमतीको उद्धारको पर्खाइमा छन्। 

यसैगरी इराक पुर्‍याइएकी कञ्चनपुरको बेलौरी नगरपालिका–८ की शर्मिला (३१) त यौन हिंसामै परिन्। नेपालमा उनको परिवार ज्याला मजदुरी गर्थ्यो। घर बनाउँदा लघुवित्तबाट लिएको ५ लाख तिर्न नसक्ने स्थिति भएपछि उनी समस्यामा थिइन्।

यो थाहा पाएका भिनाजु नाता पर्ने खिमबहादुर राना उनलाई खोज्दै घरमै आए। लघुवित्तको चर्काे व्याजको फन्दामा परेकी उनलाई खिमबहादुरले बिनापैसा इराक पठाइदिने आश्वासन दिए। घरभित्रको सजिलो काम गरेर महिनामा ५५ हजार कमाइ हुने भनेपछि उनी राजी भइन्।

तर इराकमा आफू गैरकानूनी रूपमा जाँदैछु भन्ने उनले थाहै पाइनन्। यसरी, २०७९ फागुनमा उनी इराक पुगिन्। उनलाई १२ जनाको परिवार भएको घरमा पठाइयो। त्यहाँ पुगेकै दिनदेखि उनीमाथि दुर्व्यवहार शुरू भयो।

घर मालिकले अढाई महिनासम्म उनीमाथि यौनशोषण गरे। “घरमा कोही नभएको मौका छोपेर उसले ममाथि जबर्जस्ती गर्थ्यो” उनले उकलोसँग भनिन्, “कसरी त्यहाँबाट निस्केर भागौँ भन्ने भयो। मेरो हारगुहार सुनिदिने कोही थिएन।” 

उनले एकदिन लुकीछिपी नेपालमा भएका श्रीमानलाई फोन गरेर आफू अप्ठ्यारोमा परेको सुनाइन्। यो थाहा पाएर उनका श्रीमान् उद्धारमा लागे। करिब पाँच महिनाको प्रयासपछि २०८० साउनमा नेपाल फर्किन सफल भइन्।

परदेशमा रहेका नेपालीहरूलाई उद्धार गर्ने काम गरिरहेको संस्था रेस्क्यु नेपालका अनुसार इराक पुर्‍याइएका नेपाली महिलाहरू घरेलु कामदारका रूपमा बेचिइन्छन्। विभिन्न मुलुकहरूमा फसेका नेपालीलाई उद्धार गर्दै आइरहेका इन्द्रलाल गोलेका अनुसार इराक पुर्‍याइएका नेपाली महिलालाई त्यहाँका महिला कामदार आपूर्ति गर्ने कम्पनीहरूमा बुझाइन्छ।

नेपालबाट महिला कामदार तिनै कम्पनीसँगको सम्पर्कमा लगिन्छन्। दलालमार्फत लगिएका महिलालाई ती कम्पनीले त्यहाँका अरबीलाई घरेलु कामदारका रूपमा बेच्छन्। “शरीर र अनुहार हेरेर महिलाहरूको मोलमोलाइ गरिन्छ,” उनी भन्छन्, “नेपाली महिलालाई ५–६ लाखसम्म लिएर बेच्ने गरेको पाइयो।”

यसरी बेचिएका महिलाहरूलाई श्रम र यौन शोषण गर्ने गरिएको गोले बताउँछन्। ती महिलाले घरमा १५–१६ घण्टासम्म काम गर्नुपर्छ। कुटपिट र अन्य यातना पनि भोग्ने गरेका छन्। समस्यमा परेका महिलाहरूको उद्धारका लागि दिनहुँजसो फोन आउने उनको भनाइ छ।

एनआरएनए इराकका उपाध्यक्ष निमा शेर्पाका अनुसार मानव तस्कर र एजेन्टले महिलाहरूलाई महिनौँ बन्धक बनाउनुमा धेरै कारण छन्। “इराक पुर्‍याइएका सबै महिला घरेलु कामदारलाई इराकीले लिँदैनन्,” शेर्पा भन्छन्, “कति काम गर्न नसकेर फर्काइएका हुन्छन्। यसरी फर्काइएकालाई तस्कर र दलालहरूले अर्को घरधनीलाई नबेचेसम्म बन्धक बनाउँछन्। महिना दिनदेखि वर्ष दिनसम्म पनि यसरी बन्धक बनाउँछन्।”

दलालले पुर्‍याउँछन्, फर्किनै मुस्किल
मानव तस्करहरूले इराक पुर्‍याएको नेपाली महिलाहरूको संख्या ठूलो छ। अहिले पनि महिला कामदारलाई अवैध रूपमा इराक पुर्‍याउन काम नरोकिएको त्यहाँ रहेका नेपाली आप्रवासीका संघसंस्था बताउँछन्। 

एनआरएनए उपाध्यक्ष शेर्पाका अनुसार इराक पुर्‍याइएका अधिकांश गैरकानूनी रूपमा बसिरहेका छन्। इराकको कुर्दिस्थानमा मात्रै करिब २५ हजार नेपालीहरू भएको उनले बताए। त्यसमा पनि ६० प्रतिशत महिला भएको उनको भनाइ छ।

गैरकानूनी रूपमा इराक पुर्‍याइएकाहरूको उद्धार गर्न कठिन छ। इराकमा नेपाल सरकारको कुनै नियोग र प्रतिनिधिहरू छैनन्। “इराक छिर्न सजिलो छ, तर फर्किन मुस्किल छ,” शेर्पा भन्छन्, “यहाँ आएका थुप्रैै नेपाली बर्सौं घर फर्कन नसकेर बसिरहेका छन्।”

अवैध रूपमा प्रवेश गरेकाहरू फर्किनलाई वैध कागजपत्र नहुँदा मुस्किलमा फस्ने र फर्किन पैसा पनि नहुने उनी बताउँछन्। अधिकांशसँग त राहादानी नै हुँदैन। “उनीहरूको राहदानी घरमालिक वा एजेन्टले राखिदिएका हुन्छन्,” उनी भन्छन्, “राहदानी नहुँदा घर पठाउन सकिँदैन।”

इराकलाई कुवेतस्थित नेपाली राजदूतावासले हेर्ने जिम्मेवारी पाएको छ। “कुवेतमा नै थुप्रै नेपालीहरू अलपत्र परेका छन्, दूतवासले त्यहाँ नै हेर्न सकेको छैन,” शेर्पा भन्छन्, “यस्तो अवस्थामा इराकमा फसेका नेपालीलाई कसरी हेर्न सक्छ?” 

इराकमा रहेका नेपालीहरूका लागि छुट्टै नियोग आवश्यक पर्ने शेर्पा बताउँछन्। नेपालको परराष्ट्र मन्त्रालयलाई इराकमा एक जना भए पनि प्रतिनिधि राखिदिन भनेर पटकपटक आग्रह गरेको उनी सुनाउँछन्। 
(पीडितहरूकै आग्रहमा उनीहरूको नाम परिवर्तन गरिएको छ)