क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिनेछ भने एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ।
काभ्रेपलाञ्चोक– गत असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्गको चार खण्डमा पुनर्निर्माण हुने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो।
कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिनेछ। यस्तै, एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको कार्यालयले जनायो। कार्यालयका अनुसार काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ। क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ।
काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीबाट चारसय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीबाट चार सय बेँसीसम्मको ८.५ किलोमिटर सडक तथा सन्धुलीतर्फ बर्खेखोलाबाट नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।
उनका अनुसार बिपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकारबाट आठ अर्ब ५० करोड बजेट सुनिश्चितता प्राप्त भएको छ। उक्त बजेटमध्येबाट काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीतर्फको खण्डका लागि एक अर्ब रुपैयाँले सडकको स्थायी पुनर्निर्माण गरिनेछ।
बर्खेखोलाबाट डालाबेँसीसम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग छलफल भइरहेको र जाइकाले स्थलगत अध्ययन गरिरहेकाले उक्त सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार करिब तयारजस्तै देखिएको योगशले बताए।
“उक्त सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउने खालका नयाँ काम हुनसक्ने देखिन्छ, यसका लागि जाइकासँग छलफल चलिरहेको छ, हालको अवस्था हेर्दा जाइकाले चासो दिइरहेकाले हामीले उक्त खण्डको बोलपत्र निकाल्न कुरेका हौँ,” उनले भने।
उक्त सडकखण्डका सानासाना मोडलाई सिधा बनाउन पाँच सय मिटरसम्मका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने योगेशको भनाइ छ। उनले सूचना प्रकाशित गरिएका सडकखण्डको पुनर्निर्माण गर्न जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य राखिएको बताए। यस्तै, क्षतिग्रस्त राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रूपमा गुड्नेगरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसीसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ। कार्यालयले पहिलो चरणमा भकुन्डेबाट नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ।
हाल बिपी राजमार्गको उक्त सडकखण्डमा आउँदो मनसुनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ। योगेशले दैनिक विभिन्न ३७ उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताए। वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलाकै निर्माण सामग्रीबाट सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाइरहेको उनको भनाइ छ।
“बैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको अस्थायी काम सक्नेछौँ,” उनले भने।
यसैबीच बिपी राजमार्गको डालाबेसी–बर्खेखोला’ ५.५ किमी सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ। सरकारले चार वटा प्याकेज बनाएर निर्माण गर्ने प्रक्रिया थालेपछि चारमध्ये एक खण्ड जाइकाले डिजाइन थालेको हो। सडक विभागका इन्जिनियर शुभराज न्यौपानेका अनुसार जाइकाले डिजाइन गर्दै गरेको खण्डबारे उसैले निर्माण गर्ने/नगर्नेबारे टुंगो भने लागेको छैन। यसअघि बाढीले क्षति पुगेपछि पनि जाइकाको टोलीले क्षतिग्रस्त राजमार्गको अध्ययनसमेत गरेको थियो।
जाइकाले अध्ययन गरे पनि क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्नेबारे कुनै प्रतिक्रिया नदिएपछि हाल सरकारले चार प्याकेज बनाएर तीन खण्डको ठेक्का आह्वान गरिसकेको हो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य शुरू गरिएको थियो।
खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ साल असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
