अबको केही दिन वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

काठमाडाैँ– माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

महाशाखाका अनुसार आगमी २४ घण्टामा कोशीलगायत देशको पहाडी भूभागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ।

स्थानीय वायुका साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेकाले अबको दुई दिन देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मेघगर्जन/चट्याङ, वर्षालगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।