काठमाडौँ महानगरले डोजर चलाएर हटायो कवाडी संकलन केन्द्र

काठमाडौँ महानगरले च्यासलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेका तीन वटा कवाडी संकलन केन्द्र डोजर चलाएर हटाएको छ।

काठमाडौँ– पटक–पटकको आग्रह नमानेपछि काठमाडौँ महानगरपालिकाले कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ। काठमाडौँ महानगर–३२ मा पर्ने उक्त कवाडी संकलन केन्द्र हटाउनका लागि ६ वटा टोल सुधार समिति र स्थानीयले काठमाडौँ महानगरमा उजुरी दिएको र उक्त केन्द्रमा बिहीबार डोजर लगाइएको काठमाडौँ नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए।

उपरीक्षक अर्यालका अनुसार नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीन वटा कवाडी संकलन केन्द्र हटाएर हो। “आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि काठमाडौँ महानगरले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो”, उपरीक्षक अर्यालले भने।

उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरले डोजर चलाउँदा ढुंगामुढा गरेका थिए। ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए। स्थानीयले बालबालिकाको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए।