स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाओस्: राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन्।

फाइल तस्वीर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिलेको गठबन्धनले सरकार बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका काम गर्न तयार रहेको बताए।

अध्यक्ष लिङ्देनले अबको सरकार हिजोको सरकार जस्तो बन्नु नहुने भन्दै जनमुखी काम गर्ने सरकारको आवश्यकता रहेको धारणा राखे। उनले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताए।

"नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ स्थिरताका लागि। नत्र अहिलेको गठबन्धनले बनाओस्, त्यो स्थिति नदेखिए हामी छलफल गर्नेछौँ। हामी सरकारमा जान अकारण समर्थन गर्दैनौँ", उनले भने।

अध्यक्ष लिङ्देनले सुशासन, सेवा प्रवाहका हिसाबले आउने सरकारले फरक ढंग काम गरे मात्रै आफ्नो समर्थन रहने बताए। "अब सरकार बन्दा हिजोको अवस्थामा फरक बन्नुपर्छ। सुशासन, सेवा प्रवाहका हिसाबले आउने सरकार फरक ढंगबाट बन्नुपर्छ। त्यो ढंगमा मात्रै समर्थन हुन्छ", उनले भने।