थुनामा रहेका ४ भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले थुनामा रहेका चार जना भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश दिएको छ। 

काठमाडौँ– सर्वोच्च अदालतले थुनामा रहेका चार जना भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश दिएको छ। 

नारायणकुमार सुवेदीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो।

साथै इजलासले उनीहरूलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ।

अमेरिकाबाट भुटान ‘डिपोर्ट’ गरिएका भुटानी शरणार्थीमध्ये अवैध रूपमा नेपाल छिरेका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङ अहिले काँकडभिट्टा प्रहरीको हिरासतमा छन्।

उनीहरूलाई भुटान फिर्ता पठाउन अध्यागमन कार्यालयले विभागलाई सिफारिस गरेको छ।