जाजरकोट खेमबहादुर शाहीले भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीपलाई हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन्।
मुस्ताङ– कृषक खेमबहादुर शाहीले भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप हिमाली मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन्। करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एन्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उनले दुई वर्षदेखि स्याउका बिरुवा उत्पादन गरिरहेका हुन्।
साढे दुई दशकभन्दा बढी समय भारतका स्याउ फार्ममा मजदुरका रूपमा सिकेको सीपलाई ४४ वर्षीय शाहीले मुस्ताङको उर्वर भूमिमा फेरि ब्युँताउने जमर्को गरेका हुन्। केबी शाही (खेमबहादुर) जाजरकोट गाउँपालिका–२ निवासी हुन्। शाही १४ वर्षको कलिलो उमेरमा ९ कक्षा पढ्दापढ्दै घरबाट भागेर भारतको हिमाचल प्रदेशको सिम्ला पुगेका थिए। परिवारको आर्थिक अवस्था कमजोर भएकाले धन कमाउन भारत पुगेका शाहीले भारतको सिम्लामा २५ वर्षभन्दा बढी स्याउ फार्ममा काम गरे।
परिवारले हराएको लामो समयपछि नफर्किएपछि आशा मारेको अवस्थामा कोभिड–१९ (कोरोना भाइरस)ले विश्व आक्रान्त भएको बेला घर फर्किएर केही वर्ष स्याउ बारीमा काम गरेपछि करिब दुई वर्षदेखि मुस्ताङको घाँसामा स्याउखेती गरिरहेको शाहीको भनाइ छ। समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा नर्सरी र स्याउखेती विस्तार गरेको बताउँदै उनले भारतमा काम सिक्ने र ज्यान पाल्नेबाहेक केही प्रगति नभएको उल्लेख गरे।
अन्ततः स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा पुगेर केही उत्पादनमूलक काम गर्ने सोचका साथ स्याउको नर्सरी शुरू गरेको शाहीले जानकारी दिए। शुरूआतका वर्षमा उनले स्याउ नर्सरीबाट पाँच हजार बिरुवा बेचेको बताए।
भारतमा सिकेको सीपलाई अँगाल्दै स्याउखेती र नर्सरीका लागि जिल्लाका विभिन्न पालिकामा पुगेर त्यहाँका जनप्रतिनिधि, स्थानीय र किसानसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक तालिम दिएको शाहीको भनाइ छ। दुई वर्षअघि मुस्ताङको घरपझोङ गाउँपालिकाले सञ्चालन गरेको ६ महिने तालिममा किसानलाई उन्नत तथा स्थानीय जातका स्याउखेतीसम्बन्धी तालिम दिएको उनले अनुभव सुनाए।
हाल शाहीले आफ्नो फार्ममा रेड डेलिसियस, रोयल डेलिसियस, रिचा रेड डेलिसियस र गोल्डेन डेलिसियसका साथै इटिलियन गाला, फुजी, किङ्रड प्रजातिका प्रतिबिरुवा तीन सयदेखि नौ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको जानकारी दिए। फार्ममा लगाएको तीन सय बोट उत्पादन दिन तयार भएका उनले बताए।
“छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसा क्षेत्रमा स्याउ फल्नेमा धेरैले आशा मारिसकेको अवस्था थियो। दुई वर्षअघि नर्सरीको शुरूआत गर्दा स्थानीय र सरोकार भएकाले नकारात्मक प्रतिक्रिया दिँदा दुःख लाग्थ्यो”, उनले भने, “अहिले बिरुवा लिन मुस्ताङभित्र र बाहिरी जिल्लाबाट पनि फार्ममा किसान आउनुहुन्छ।”
शाहीका अनुसार अबको पाँच वर्षभित्र घाँसामा पाँच गुणा स्याउका बिरुवा उत्पादन गर्ने, स्थानीयलाई आवश्यक सीप प्रदान गर्ने, मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बगैँचामा घुमाउनुका साथै बगैँचाबाटै पाकेका स्याउ बिक्री गर्ने लक्ष्य छ। शीतोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङका अनुसार यहाँ समुद्री सतहको एक हजार ९०० मिटरदेखि तीन हजार ६०० मिटर सम्मको उचाइमा स्याउ उत्पादन हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
