पारा ओलम्पियन भरतको यात्रा: एक हातले लेखिएको सपना

कहिले झैझगडामा रमाउने त कहिले ‘डन’ बन्ने सपना देख्ने भरत अहिले अन्तर्राष्ट्रिय रंगशालामा देशको झन्डा बोकेर उभिन सफल भएका छन्। एक हात नहुनु उनको कमजोरी होइन, देशका लागि गर्वको विषय बनेको छ।

काठमाठौँ– भरतसिंह महता (२९) दार्चुलाको अपि हिमाल गाउँपालिकामा जन्मेका हुन्, जुन लिपुलेक नजिकैको पालिका हो। जन्मँदै उनको एउटा हात थिएन। यही कारण उनी चाडपर्व होस् वा अन्य कुनै कार्यक्रम खुलेर हाँस्न पाएनन्। नराम्रो भन्छन् भन्ने ठानेर बाआमाले उनलाई पूरा बाहुलाको लुगाबिना घरबाहिर निस्किन दिँदैन थिए। उनीमाथि भइरहेको व्यवहार देखेर उनीहरू आफैमा उकुसमुकुस हुन्थे।



भरत कुरा बुझ्ने उमेरको भइसकेका थिए। साथीभाइको बाआमाले आफूलाई हेरेर ‘हाम्रो छोराछोरीको त हात खुट्टा छ ठूलो भएर कै गरिखान्छन् होला, यसको के हुन्छ होला नि पछि बिचरा’ भन्दै बाआमासँग चिन्ता व्यक्त गरेको सुन्थे। यसले उनलाई नरमाइलो लाग्थ्यो। आफ्नो मनलाई बलियो बनाएर हिँड्नुबाहेक अरू उपाय थिएन उनीसँग। 



भरत कक्षा ६ मा पढ्दाताका एउटा घटना सम्झिन्छन्। उनको कक्षामा एउटा साथीको हातमा ६ ओटा औँला थियो। पढाउँदापढाउँदै गुरुले एक प्रसंग जोड्दै भने, ‘कसैको ६ वटा औँला छ कसैको हातै छैन।’ गुरुसँगै सबै साथी एकै स्वरमा गललल हाँसे। साथीबाट हुने हेपाइ सहेर बसिरहेको उनीलाई शिक्षा दिने र ज्ञानगुनका कुरा सिकाउने शिक्षकले नै मजाक उड्दा उनको मनमा पहाड खस्यो।



गुरुको त्यो बचनले उनको मनमस्तिष्कमा निकै ठूलो चोट दियो। गुरुबाट भएको यस्तो व्यवहारबारे घरमा बाआमालाई सुनाउन पनि सकेनन्। भन्छन्, “घरमा बाआमालाई सुनाऊ भने बाआमाको मन दुख्ला भन्ने लाग्यो अनि बाआमालाई सुनाउने आट गरिनँ। गुरुको कुराले निकै मन दुखेको थियो। विद्यालयबाट कोठा फर्केर आएँ। ढोका थुनेर एक्लै बेस्सरी रोएँ। धेरै बेरसम्म रोएर मनलाई हलुका बनाएँ।”



अपहेलनाले जन्माएको विद्रोह

उनी त्यति बेला जम्मा १३ वर्षको थिए। सानैबाट सबैको हेपाइ सहँदासहँदै विक्षिप्त बनेका भरत चाहन्थे आफूलाई पनि अरूलाई जस्तै सबैले सरल व्यवहार गरून्। केही उपाय नचलेपछि, उनीभित्रको पीडाले उग्र रूप लिन शुरू गर्‍यो। उनले अरूले गर्ने नराम्रो व्यवहारको प्रतिकार गर्न थाले। त्यसपछि शुरू भयो भरतको विद्रोही–शैली। अब उनी झैझगडातिर लाग्न थाले। कसैले आफ्नो अवस्थाको मजाक उडाए उनी आक्रोशित भई कुटपिटमा उत्रिइहाल्न थाले।



बिस्तारै साथीहरू मजाक उडाउन त के उनको कुरै गर्न पनि डराउन थाले। उनको झैझगडाबाट वाक्क भएका शिक्षकले समेत हात जोडेर झगडा नगरिदिन बिन्ती बिसाउन थाले। शिक्षकहरूले हात जोडेको देख्दा यही रहेछ तरिका सही रहेछ मान्छेहरूलाई आफ्नो ठाउँमा राख्ने भन्ने उनको दिमागमा आउन थाल्यो र उनी झनै झगडालु हुन थाले। उनलाई सही गलतको पर्बाह थिएन। उनलाई त बस जसरी हुन्छ अरूको नजरमा लाचार व्यक्ति बनाउनु थिएन।



सधैँ अरूबाट हेपाई खाएर खेल्न, हिँड्न डराउने उनी गलत बाटो अपनाएरै भए पनि आफ्नो आत्मविश्वास बलियो बनाएका थिए। उनलाई भलिबल निकै मन पर्थ्यो। उनले भलिबल खेल्न थाले। ६ कक्षाभन्दा अगाडि उनको पढाइ पनि निकै राम्रो थियो। बिस्तारै झैझगडा र भलिबलले उनको पढाई खस्किँदै गयो। भलिबल र झैझगडामा फसेर पढाइलाई ध्यान दिन नसक्दा १० कक्षामा पढाइ टुंगिएको भरत सुनाउँछन्।



त्यसा बेला नेपालमा दीपक मनाङे, मिलन चक्रे, कुमार घैँटे, चरीजस्ता ‘डन’(गुन्डा नाइके)हरूको चर्चा थियो। उनलाई पनि त्यस्तै बन्ने सोख चढ्यो। ‘डन’ बन्ने अठोटसाथ उनी २०७३ सालमा काठमाडौँसम्मै आए। तर आमाले यो कुरा थाहा पाएर ‘यदि तँ डन बनिस् भने म आत्महत्या गरिदिन्छु’ भन्दै घुर्क्याइन्। आमाको धम्कीपछि उनी गाउँ फर्किन बाध्य भए।



गाउँ पुगेपछि छोरा बिग्रिने डरले परिवारले विवाह बन्धनमा बाँधिनका लागि निकै जोड गर्न थाले। त्यसपछि उनले आफ्नै प्रेमिका मीना कुनुवार महतासँग विवाह भयो। विवाहपछि पनि उनको ‘डन’ बन्ने चाहना मेटिएको थिएन। २०७४ सालमा उनको छोरा जन्मिएपछि भने उनले परिवारको सुरक्षा, छोराको भविष्य सम्झेर आफ्नो डन बन्ने सपनालाई त्यागिदिए।



पारा तेक्वान्दोको शुरूआत

भरतलाई भलिबलको ठूलो खेलाडी बन्ने रहर थियो। तर शारीरिक अवस्थाका कारणले त्यो सम्भव भएन। गाउँका एक जना दाइले पारा ओलम्पिकबारे उनलाई सुनाए। उनी पारा ओलम्पिकबारेमा बुझ्न २०७२ सालमै पहिलोचोटि दार्चुलाबाट काठमाडौँ आएका थिए। धेरै ठाउँ भौँतारिँदा पनि पारा ओलम्पिकबारे केही भेउ पाउन नसकेपछि उनी निराश हुँदै फेरि गाउँ फर्किए।



आफूले सोचेजस्तो केही नभएपछि अब राजनीतितिर लाग्ने कोशिशमा जुटे भरत। तर उनको बुवालाई यो कुरा मन परेको थिएन। घरमा यही कुरामा दिनहुँ कलह हुन थाल्यो। अनि भरत राजनीतितिरको बाटो मोड्दै व्यवसाय गर्ने सोचमा पुगे। र मामाको सल्लाहअनुसार २०७८ सालमा आफ्नो परिवारसँग काठमाडौँ आई गाई पालन व्यवसाय शुरू गरेका हुन्।



व्यवसायतिर लागे पनि उनी सन्तुष्ट भने थिएन। उनलाई राष्ट्रले चिन्ने काम गर्नु थियो। उनले राजनीति, डन, खेलाडी सबै बन्ने प्रयास गरे तर असफल भए। अझै पनि देशलाई चिनाउने केही काम गर्न पाए हुन्थ्यो भन्ने उनको मनमा लागिरहन्थ्यो।



वाइल्डकार्ड इन्ट्री

एक दिन युट्युबमा भिडियो हेरिरहेका थिए। त्यहीँबाट हो उनले ह्विलचियर क्रिकेटबारे थाहा पाएको। २०७२ सालमै खेलबाट निराश भएर घर फर्किएका भरतमा फेरि नयाँ जोस पलायो। खेलबारे बुझ्न विभिन्न अपांगतासम्बन्धी संस्थातिर भौँतारिने क्रममा उनले राष्ट्रिय अपाङ महासंघसम्म पुग्दा क्रिकेट मात्र नभएर अन्य धेरै खेलबारे पनि थाहा पाए।



महासंघमै पारा तेक्वान्दोकी पूर्वखेलाडी सीता भण्डारीसँग भेट भयो। सीताले उनलाई तेक्वान्दो खेल्नका लागि प्रेरित गर्दै नेपाल तेक्ववान्दो संघमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामासँग भेट गराइदिइन्। त्यहाँबाट शुरू भयो भरतको पारा तेक्वान्दो यात्रा।



गत अगस्ट पेरिसमा सम्पन्न पारा ओलम्पिक खेलमा पारा तेक्वान्दोबाट वाइल्डकार्ड इन्ट्री पाउँदा भरतको खुशीको कुनै सीमा थिएन। खुशी पनि किन नहुन्, पारा ओलम्पिकमा सहभागी हुनका लागि तीन वटा मार्ग हुन्छन्। विश्व वरीयता छैटौँ अंकसम्म पुग्ने, छनोट खेल प्रतियोगिता विजेता हुने वा वाइल्डकार्ड इन्ट्रीमा नाम आउने। नयाँ खेलाडी भएका कारण विश्व वरीयतामा पुग्न सम्भवै थिएन। त्यसैले पारा ओलम्पिकसम्म पुग्ने यो बाटो बन्द भइसकेको थियो।



उनले पारा तेक्वान्दो खेल्न शुरू गरेको सात महिनामा पारा ओलम्पिक एशियाली छनोटमा सहभागिता हुने अवसर त पाएका थिए। तर त्यहाँ जित हासिल गर्न सकेनन्। एशियाली छनोटमा पराजित भएपछि उनको अर्को बाटो पनि बन्द भयो। उनका लागि एउटै मात्र बाटो बाँकी थियो वाइल्डकार्ड इन्ट्री।



त्यसका लागि नेपालबाट भरतसहित अमिर भ्लोनले नाम दिएका थिए। उनीहरूले वाइल्डकार्डका लागि आवेदन दिँदै गर्दा ओलम्पिकमा छनोट हुनेमा उनी मात्रै होइन गुरु नेगी पनि आशावादी थिएनन्। भाग्यवश वाइल्डकार्डका लागि भरतको नाम निस्कियो। तर खेलमा ५८ केजीमुनि तौल समूहमा भरत जापानी खेलाडी मित्सुया तानाकासँग १९-३ ले पराजित भएर उनको पेरिसको यात्रा टुंगियो।



छोटो समयको प्रशिक्षणको बाबजुद भरतले राम्रो प्रतिस्पर्धा गरेको पारा तेक्वान्दो प्रशिक्षक नेगी बताउँछन्। नेगी भन्छन्, “उसले जित हासिल गर्न नसके पनि मेरा लागि जितेको बराबर हो। भरत नयाँ खेलाडी थिए। तैपनि ओलम्पिकसम्म पुगेर प्रतिस्पर्धा गर्न सक्नु सानो कुरा होइन। भरत त्यहाँसम्म पुगेर त्यति राम्रो प्रतिस्पर्धा गर्नु मेरो जीवनको सबैभन्दा खुशीको पल हो।”



लक्ष्य सन् २०२८ को पारा ओलम्पिक

​​​​​​​भरत अहिले पनि प्रशिक्षक नेगीसँग निरन्तर प्रशिक्षण लिइरहेका छन्। उनको एक मात्र उद्देश्य सन् २०२८ मा हुने पारा ओलम्पिकमा जित हासिल गरी देशका लागि स्वर्ण पदक ल्याउने छ। अहिले उनी त्यसैको तयारी गरिरहेको हुन्। 



व्यवसाय श्रीमतीलाई सुम्पेर तीन वर्षका लागि खेलमा मात्र लागिपर्ने भरतको अठोट छ। अहिले भरत दुई सिफ्टमा प्रशिक्षण लिइरहेका छन्। “एक समयको प्रशिक्षणले मात्र पारा ओलम्पिकसम्म पुगेर स्वर्ण पदक ल्याउन सकिँदैन, त्यसैले म दुई समय प्रशिक्षण लिने गर्छु। मेरो अबको ३ वर्ष सबै खेलको लागि सुम्पेको छु,” उनी भन्छन्, “हजारौँ चुनौती आए तापनि सबैलाई पार लगाएर च्याम्पियन बनी देशको नाम राख्नु मेरो एक मात्र लक्ष्य हो।”