निसास्सिएका जैतुनका रूख, धर्मराउँदै प्यालेस्टिनी आशा

प्यालेस्टिनी अर्थतन्त्रको आधार जैतुनको रूखलाई आशा, प्रतिरोध र भूमि–सम्बन्धको शक्तिशाली प्रतीक पनि मानिन्छ। इजरायली सेनाले तिनै रूखलाई निशाना बनाउँदै आएको छ।

वेस्टबैंकमा इजरायलीहरूको अतिक्रमणबाट काटिएको आफ्नो जैतुनको रूखलाई अँगालो हालेर रुँदै एक वृद्ध प्यालेस्टिनी महिला। तस्वीर: नासेर इश्तायेह/एपी

काठमाडौँ– प्यालेस्टिनी संस्कृतिमा जैतुनको रूखलाई आशा, प्रतिरोध र भूमि–सम्बन्धको शक्तिशाली प्रतीक मानिन्छ। प्यालेस्टिनीका संघर्ष र दुःखान्तका गाथालाई प्रकट गर्ने बलियो बिम्ब पनि हो जैतुन।

जैतुन अर्थात्, ओलिभ तेलजन्य फल हो। विश्व बजारमा यसका अनेक प्रयोग छन्। स्वादिष्ट पिजाका लागि जैतुनको तेल/फल अत्यावश्यक झैँ मानिन्छ। प्यालेस्टिनीहरू जैतुनको तेलमा चोबेर ताबू (रोटी) खान्छन्।

नेपालमा जैतुन खेतीको परीक्षण सफल भइसकेको छ। इटालियन सरकारको सहयोगमा सन् २००६ मा लगाइएको जैतुन खेती सफल भएको प्रतिवेदन २०१६ मा तयार पारिएको थियो। अहिले बाजुरा, डोल्पा र मकवानुपरमा फाट्टफुट्ट जैतुन फलेका छन्। भन्सार विभागको तथ्यांकअनुसार नेपालले युरोपलगायत देशबाट वार्षिक १० करोड रूपैयाँभन्दा धेरैको जैतुनजन्य वस्तु (तेल र दाना) आयात गर्छ।

जैतुनको तेल, तयारी दाना र पात / तस्वीर: फ्री-पिक

प्राचीन ग्रीक र रोमन संस्कृतिमा जैतुनको पातलाई शत्रुताको अन्त्य र शान्तिको चिन्ह मानिन्थ्यो। बाइबलमा पनि जैतुनको रूखलाई मानिसहरूबीच सद्भावको रूपमा उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघको लोगोमा भएको धानको बालाजस्तो देखिने घेरा जैतुनकै पात हो। राष्ट्रसंघको स्थापना विश्वशान्ति, सहयोग र युद्ध रोक्ने उद्देश्यले भएको हुँदा ‘जैतुनको पातले घेरिएको विश्वको मानचित्र’लाई लोगो कायम गरियो।

प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ)का तत्कालीन नेता यासेर अराफात (पछि उनी प्यालेस्टाइनको पहिलो राष्ट्रपति पनि भए)ले सन् १९७४ मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भनेका थिए, “आज म एउटा हातमा जैतुनको हाँगा र अर्को हातमा स्वतन्त्रता सेनानीको बन्दुक बोकेर आएको छु। मेरो हातबाट जैतुनको हाँगा खस्न नदेऊ। म फेरि पनि भन्छु, मेरो हातबाट जैतुनको हाँगा खस्न नदेऊ।”

यसको अर्थ बल्लतल्ल ‘देश’ बन्न थालेको प्यालेस्टाइनलाई यहुदीको कब्जामा जान नदेऊ भन्ने हो। उनको उक्त सम्बोधनलाई ऐतिहासिक मानिन्छ। किनकि, यो सम्बोधन प्यालेस्टिनी प्रतिनिधिले राष्ट्रसंघको महासभामा गरेको पहिलो थियो।

यो पनिः के हो इजरायल–प्यालेस्टिाइन विवाद, किन भइरहन्छ पटक–पटक युद्ध?

सन् १९६७ को ‘६ दिने युद्ध’ मा प्यालेस्टिनीको पक्षमा लडिरहेका अरब देशहरूको सैन्य गठबन्धन इजरायली सेनासँग पराजित भएपछि पीएलओको उदय भयो। अरब शिखर सम्मेलनले पीएलओलाई प्यालेस्टिनी जनताको प्रतिनिधिका रूपमा मान्यता दिएपछि कार्यकारी समितिका अध्यक्ष तथा प्यालेस्टिनी क्रान्तिका कमान्डर अराफातले उक्त ऐतिहासिक सम्बोधन गरेका थिए।

इजरायली आक्रमणले जलेको रूखको छेउमा उभिएर इजरायली बस्तीलाई हेर्दै एक प्यालेस्टिनी जैतुन किसान। तस्वीरः फैज अबु रमेलेह/बीटी–सेलेम

त्यही भाषणमा उनले भनेका थिए, “उनीहरूको (इजरायली/यहुदी) आतंकवाद घृणाबाट ग्रस्त थियो र त्यो घृणा मेरो देशको गर्वको प्रतीक जैतुनको रूखविरुद्ध पनि लक्षित थियो।”

सेनाको निशानामा जैतुन
प्यालेस्टिनी हुनुको गर्वको प्रतीक मानिने जैतुनको रूखलाई अहिले पनि इजरायली सेनाले निशाना बनाउन छाडेका छैनन्।

२०२३ अक्टोबर ७ देखि शुरु भएको युद्धयता प्यालेस्टिनी विद्रोही समूह हमासलाई सफाया गर्न उत्रेको इजरायली सेनाको आक्रमणमा परेर अहिलेसम्म ५१ हजारभन्दा धेरै प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। एक लाख १५ हजारभन्दा धेरै घाइते भएका छन्। तीमध्ये धेरैसो महिला र बालबालिका छन्।

इजरायली आक्रमणले प्यालेस्टिनी नागरिकको ज्यान मात्र लिएन, उनीहरूको आस्थाको प्रतीक, जीवन निर्वाहको आधार जैतुनका रूखलाई नै सफाया गरिदियो। त्यसअघि पनि बेलाबेला प्यालेस्टिनी भूमि वेस्टबैंक तथा गाजापट्टीमा हस्तक्षेप गर्ने र सैनिक टुकडी विस्तार गर्न तथा बस्ती बसाउन इजरायली सेनाले जैतुनका रूख फडानी गर्ने गरेको थियो। इजरायली सेनाको विस्तारबाट आफ्ना जैतुनका रूख बचाउन लाग्दा कयौँ प्यालेस्टिनी नागरिकले ज्यानै जोखिममा पारेका घटना छन्।

जैतुन टिप्ने क्रममा इजरायली सेनाको गोली लागेर मृत्यु भएकी हनान अब्द रहमानको अन्त्येष्टिमा शोक मनाइरहेका आफन्तजन। तस्वीर: रानीन सवाफ्ता/रोयटर्स

संयुक्त राष्ट्र मानवीय मामिला कार्यालय (ओसीएचए)ले २०२४ अक्टोबर–नोभेम्बरमा वेस्टबैंकमा अतिक्रमण गरेर बसोबास गर्ने इजरायलीद्वारा जैतुनको कटनीसँग सम्बन्धित २६० हिंसात्मक घटनाको अभिलेख राखेको छ। ओसीएचएका अनुसार, त्यहाँ बसोबास गर्ने इजरायलीहरूले ५७ तथा इजरायली सशस्त्र सेनाले ११ जना प्यालेस्टिनीलाई घाइते बनाए।

भूमि अनुसन्धान केन्द्रका अनुसार २०२३ अक्टोबर ७ देखि वेस्टबैंकमा नष्ट गरिएका रूखहरूको कुल संख्या ५२ हजार ३०० भन्दा बढी छ। यो संख्या प्यालेस्टिनी कृषि मन्त्रालयले १५ महिनाअघि यस क्षेत्रमा रेकर्ड गरेका जैतुनका रूखहरूको लगभग ४५ प्रतिशत हो। ओसीएचएका अनुसार गत वर्ष इजरायली सरकारले गरेको बमबारीका कारण गाजापट्टीमा रहेका जैतुनको तेल पेल्ने ३७ वटा कोलमध्ये चार वटा मात्र बाँकी रहे।

ग्रामीण प्यालेस्टिनीहरूको आम्दानीको प्रमुख स्रोत नै जैतुन हो। अक्टोबर–नोभेम्बरमा जैतुनको फसल टिप्ने समयमा उनीहरूले उत्सव नै मनाउँछन्। खान युनिस र रफाह क्षेत्रमा ठूला जैतुन बगैँचा छन्। एक लाखभन्दा धेरै प्यालेस्टिनी परिवारहरू आफ्नो आम्दानीको लागि जैतुनमा निर्भर थिए। त्यहाँको अर्थतन्त्रलाई धान्न जैतुनको तेल, दानासँगै जैतुनको साबुन–सेम्पु र फर्निचरजन्य उत्पादनले ठूलो टेवा पुर्‍याउँदै आएको थियो।

गाजापट्टीमा जैतुनको मौसम शुरू भएको अवसरमा आयोजित समारोहमा जैतुनको फल टिप्दै प्यालेस्टिनी महिला। तस्वीरः एएफपी

हमासले इजरायलमा गरेको आक्रमणपछि लगभग दुई लाख प्यालेस्टिनीहरूले इजरायलमा काम गर्ने अनुमति गुमाएका थिए। कृषि क्षेत्र उनीहरूका लागि एक मात्र कामको स्रोत थियो, त्यसमा पनि जैतुन खेती मुख्य थियो। तर त्यही जैतुनलक्षित आक्रमणले चोटमाथि चोट दियो प्यालेस्टिनीलाई।

स्वतन्त्र मिडिया संगठन मोंगाबेसँगको कुराकानीमा प्यालेस्टिनी कृषि मन्त्रालयका प्रवक्ता महमुद फताफ्ताले भने, “जैतुनको खेती गरिएको क्षेत्रफलको लगभग ७४ प्रतिशत नष्ट भयो। यो भनेको लगभग २२ लाख ९० हजार जैतुनको रूखमा क्षति पुगे बराबर हो।”

टर्कीको सार्वजनिक प्रसारण सेवा टीआरटीका अनुसार सन् १९६७ यता अहिलेसम्म इजरायली सेनाले प्यालेस्टिनी भूमिबाट १० लाखभन्दा धेरै जैतुनका रूख नष्ट गरिसकेको छ। उनीहरूले ओलिभका रूखमा आगो लगाउने, बुलडोजरले किचेर जरैदेखि उखेल्ने गर्छन्। यसका साथै युद्धका क्रममा गरिएका बम आक्रमणले त्यति नै मात्रामा क्षति पुर्‍याएको छ।

बगैंचामा रोप्न जैतुनको बिरुवा बोकेर हिँडिरहेका एक प्यालेस्टिनी किसान। तस्वीरः ‘प्यालेस्टिनी फेयर ट्रेड एसोसिएसन’

अझै पनि प्यालेस्टिनी थाकेका छैनन्। जैतुनका रूख रोप्ने अभियान नै चलाएका छन्। 

कला–साहित्य र जैतुन
प्यालेस्टिनी भावना, अस्तित्व र संघर्षलाई दर्शाउन कवि र चित्रकारले जैतुनको सहारा लिन्छन्। यसलाई बिम्ब बनाएर सयौँ कविता लेखिएका छन्। चित्र कोरिएका छन्।

प्रसिद्ध प्यालेस्टिनी कवि महमुद दर्विशले एक पटक लेखेका थिए, ‘यदि जैतुनका रूखहरूले आफूलाई रोप्ने हातहरू चिने भने, तिनीहरूको तेल आँसु बन्नेछ।’ यसमा उनले प्यालेस्टिनी भूमिमाथि अतिक्रमण गर्न खोज्नेहरूको ज्यादति दर्शाउन खोजेका छन्, जहाँ जैतुनको अस्तित्वको पीडाले प्यालेस्टिनीको पीडालाई प्रतिविम्बित गरेको छ। सन् १९६४ मा प्रकाशित आफ्नो कविता संग्रह ‘जैतुनको रूखका पातहरू’मा उनले लेखेका छन्, ‘जैतुन एक सदाबहार रूख हो, ब्रह्माण्डको कवचझैँ जैतुन सदाबहार रहनेछ।’

गाजा युद्धविरामको माग गर्दै लन्डनमा गरिएको प्रदर्शनमा जैतुनको महत्त्व झल्किने दर्विसको कविता लेखिएको प्लाकार्ड (बायाँ) र जैतुन टिपिरहेको दृश्य झल्किने पेन्टिङ (दायाँ) 

यस्तै, प्यालेस्टिनी साहित्यकार फड्वा तोकान जैतुनको रूखलाई प्यालेस्टाइनको नवीकरण र एकताको रूपमा मान्थिन्। सन् १९९३ मा प्रकाशित आफ्नो कवितामा उनले लेखेकी छिन्ः
मैरै माटोबाट पलाएका हुन् जैतुनका जरा, र त सधैँ ताजा छन्। 
यसको ज्योति मेरो हृदयबाट उत्सर्जित हुन्छ र यो प्रेरित हुन्छ।

जबसम्म मेरो सृष्टिकर्ताले मेरो स्नायु, जरा र शरीर भर्नुभयो, त्यसैले उभित्रको परिपक्वता पात हल्लाउँदै उठ्यो।

प्रसिद्ध प्यालेस्टिनी चित्रकार तथा मूर्तिकार नबिल अनानी जैतुनको रूखलाई शक्तिशाली राष्ट्रिय प्रतीकका रूपमा विश्वास गर्छन्। त्यसैले साहित्यकार तथा कलाकार पनि जैतुनका रूखलाई कुनै पनि हालतमा सुरक्षित गरिनुपर्ने बताउँछन्।

“मेरो लागि यो राष्ट्रिय र कलात्मक प्रतीक दुवै हो। यसले प्यालेस्टाइनको प्रकृति र सौन्दर्यलाई प्रतिबिम्बित गर्दछ,” समकालीन प्यालेस्टिनी कलाका संस्थापकमध्ये एक मानिने अनानीले अरब न्यूजसँगको कुराकानीमा भनेका छन्, “हाम्रा परम्परा, संस्कृति, कविता र गीतहरू प्रायः जैतुन रूखको वरिपरि केन्द्रित हुन्छन्।”

युद्धका बीच गाजापट्टीमा एक प्यालेस्टिनी बालक इन्धनका रूपमा प्रयोग गर्न जैतुनका  हाँगाहरू घिसारेर लिँदै। तस्वीरः अहमद जाकोट/एपी

अझै पनि बम आक्रमणमा क्षतविक्षत भएका जैतुनका हाँगाले प्यालेस्टिनीको साथ छाडेका छैनन्। खाना पकाउन विद्युत र ग्यासको आपूर्ति रोकिएपछि प्यालेस्टिनीहरूले तिनै उखेलिएका जैतुनका दाउरा बाल्न थालेका छन्। मानवीय दुःख र संकटको बीचमा बाँच्न दाउराको लागि परिवारहरूले आफ्नै रूखहरू नष्ट गर्न बाध्य छन्, जसले अर्को त्रासदीको श्रृंखला देखाएको छ।

यसरी आफू विनाश भएर पनि प्यालेस्टिनीको ज्यान जोगाउने जैतुनका रूख साँच्चिकै महान छन्। अमेरिकाका संस्थापक तथा तेस्रो राष्ट्रपति थोमस जेफर्सनले त्यसै लेखेका होइनन्, “जैतुनको रूख पक्कै पनि स्वर्गको सबैभन्दा मूल्यवान उपहार हो।”