यमनमा अमेरिकी हवाई आक्रमणबाट ५८ जनाको मृत्यु, १२५ जना घाइते

रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नुरहेको अमेरिकी सेनाले जनाएको छ।

यमनको हुथी विद्रोहीलक्षित अमेरिकी सेनाको हवाई आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ। हुथी समूहनिकट अल मसिराह टिभीका अनुसार आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन्।

यसअघि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको र कम्तीमा २० जनाको मृत्यु भएको बताइएको थियो।

रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नुरहेको अमेरिकी सेनाले जनाएको छ।

रेड सी र एडेनको खाडीमा रहेका सैन्य तथा गैरसैन्य जहाजमाथिको आक्रमण रोक्न वासिङ्टनले मार्च १५ देखि हुथी विद्रोहीमाथि दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ।

विद्रोहीहरूले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आक्रमण शुरू गरेका थिए‍। इजरायली सेनाले अमेरिकी आक्रमणपछि यमनबाट आउँदै गरेको क्षेप्यास्त्रलाई रोकेको शुक्रबार जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी आक्रमणको उद्देश्य हुथीको शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नुरहेको छ। हुथीले यमनमो शोषण जारी राखेका छन् र आफ्नो विरोधी यमनी नागरिकलाई समेत पीडा दिइरहेका छन्।”

वासिंटनले यस वर्षको शुरूमा हुथीलाई विदेशी आतंकवादी संगठन घोषणा गरेको थियो। यद्यपि, अमेरिकी लगानीका जहाजले ‘रास इसा’ बन्दरगाहमार्फत इन्धन आपूर्ति जारी राखेको सैन्य कमान्डले इन्धनको स्रोत निर्दिष्ट नगरीकन उल्लेख गरेको छ।