प्रि–मनसुन अवधिमा विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, करोडौँको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको प्रि–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी हालसम्म ४१ जनाको मृत्यु र २५७ जना घाइते भएको जनाएको छ।

काठमाडौँ– यस वर्षको प्रि–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ। २५७ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यस अवधिमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ।

मुलुकमा अहिले प्रि–मनसुनको अवधि छ। साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई प्रि–मनसुन भनिन्छ।

प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरी बतास चल्ने, मेघ गर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको जनाएको छ।

यो अवस्था अझै केही दिन रहने छ। जल तथा मौसम विज्ञान विभागका निकायबाट जारी हुने विपद्सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न, विपद्बारे चासो राखी चनाखो बनी विपद् सुरक्षित नेपाल निर्माणमा साथ सहयोग पुर्‍याउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ।

संवैधानिक प्रावधान तथा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ। यसका लागि स्थापित कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्थानीयदेखि केन्द्रसम्म क्रियाशील संस्थागत संरचना तथा संयन्त्रको प्रभावकारी परिचालन जरुरी रहेको प्राधिकरणले जनाएको छ।