काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कोशी, बागमती, गण्डकी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

यसैगरी, राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै तथा कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

मेघगर्जन र चट्याङ, वर्षा तथा हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।