काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोगी बनेका करिडोर सडक

चोक–चोकमा हुने सवारी जामका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको अवस्थामा करिडोर सडक यसको विकल्प बनेका छन्। उपत्यकाको भित्री बस्तीका लागि त यी सडक ‘लाइफलाइन’ नै बनिरहेका छन्। 

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– काठमाडौँ उपत्यकामा घनाबस्ती र सवारी चापका कारण सडक साँघुरो हुँदै गएका छन्। त्यससँगै ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिँदै आएको छ। यही समस्या र चुनौतीलाई व्यवस्थापन गर्न सरकारले  अर्बौं खर्च गरेर करिडोर सडकको विकास र विस्तार गरेको छ।

चोक–चोकमा हुने सवारी जामका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको अवस्थामा करिडोर सडक यसको विकल्प बनेका छन्। उपत्यकाको भित्री बस्तीका लागि त यी सडक ‘लाइफलाइन’ नै बनिरहेका छन्। 

अहिले धोबीखोला, बागमती, विष्णुमती, मनोहरा, नक्खुखोला करिडोर सडक वैकल्पिक रूपमा सर्वसाधारणले प्रयोग गर्न थालेका छन्। यसले काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला आउजाउ गर्नसमेत सहज भएको छ। 

यसरी अर्बौं खर्च गरी विस्तार गरिएको करिडोर सडक त्रुटिविहीन भने छैन। मूल सडकमा निर्माण गरिएको पुल होचो हुँदा ठूला सवारी साधनले करिडोर सडक प्रयोग गर्ने अवस्था छैन। वर्षा हुँदा खोलाको बहाव बढेर सडकमा पुग्ने गरेको छ। बस्तीबाट आएको ढलका कारण पनि जलमग्न हुन्छ र हरेक वर्ष सवारी साधन फस्ने गरेको देखिन्छ। 

सरकारले शहरी पूर्वाधारमा एकीकृत करिडोर बनाउने घोषणासमेत गरेको छ। तर भएका करिडोर समस्या भने उस्तै छ। जसमा कतिपय सडक खोलाको सतहभन्दा तल भएकाले जहिले पानी जम्ने गरेका छन्। थापाथली पुल, ग्वार्को पुल, बल्खु पुलमुनी जहिल्यै पानी जमिरहेको हुन्छ। किनभने हरेक पुलमुनी करिडोरको ‘एप्रोच वे’ खोल्दा खोलाको सतहभन्दा तल हुने गरेको इन्जिनियर बताउँछन्। त्यो अवस्था दैनिक रूपमा ती करिडोर हुँदै यात्रा गर्दा देखिन्छ।

यसका प्राविधिक पक्ष सुधार गर्ने हो भने करिडोर सडक उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि उपयुक्त विकल्प हुनेछ।