सरकारले यस आर्थिक वर्षका लागि ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ।
काठमाडौँ– सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म साढे ३ खर्बभन्दा बढी ऋण उठाएको छ। साढे २ खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको शुरूमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो भने पछिल्लो नौ महिनामा २ खर्ब ३३ अर्ब १७ करोड ऋण थपिएको छ। यसरी चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको कार्यालयले जनाएको छ।
“चैत मसान्तसम्ममा सार्वजनिक ऋण कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ४६.७५ प्रतिशत हुन आउँछ। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.१९ र आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत छ,” प्रतिवेदनमा भनिएको छ। मुलुकको हालसम्मको कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब एक अर्ब ९४ करोड र बाह्य ऋण दायित्व १३ खर्ब ६५ अर्ब ३२ करोड बराबर छ।
सरकारले यस आर्थिक वर्षका लागि करिब साढे ५ खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकामा गत चैत मसान्तसम्म ६७ प्रतिशत हाराहारी उठिसकेको छ। “चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्ममा ३ खर्ब ६६ अर्ब ९ करोड ऋण प्राप्ति भएको छ। वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक प्राप्ति ६६.९३ प्रतिशत रहेको छ,” प्रतिवेदनमा भनिएको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सरकारले २ खर्ब ९१ अर्ब १४ करोड आन्तरिक ऋण उठाएको छ भने ७४ अर्ब ९५ करोड बाह्य ऋण उठाएको हो। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको आन्तरिक ऋणको प्राप्ति ८८.२२ प्रतिशत र बाह्य ऋणको प्राप्ति ३४.५४ प्रतिशत बराबर हो। यस आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ।
सार्वजनिक ऋण निरन्तर बढ्दै गएसँगै त्यसको साँवा–ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मात्रै करिब साढे २ खर्बभन्दा बढी रकम साँवा ब्याज भुक्तानीमा खर्च भएको छ। “चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड भुक्तानी भएको छ,” सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ, “यो वार्षिक विनियोजनको आधारमा ६२.६७ प्रतिशत हो। जीडीपीको आधारमा चैत मसान्तसम्ममा कूल ऋण सेवा खर्च ४.४३ प्रतिशत रहेको छ।”
पछिल्लो नौ महिनामा आन्तरिक ऋणको साँवाव्याज भुक्तानीका लागि मात्रै २ खर्ब १२ अर्ब ९३ करोड खर्च भएको छ। आन्तरिक ऋणको साँवा तिर्नका लागि १ खर्ब ७० अर्ब ९ करोड र ब्याज तिर्नका लागि ४२ अर्ब ८४ करोड बराबर खर्च भएको हो। त्यस्तै, बाह्य ऋणको साँवा ब्याज तिर्नका लागि ३९ अर्ब ४३ करोड बराबर खर्च भएको छ। जसमध्ये बाह्य ऋणको साँवा तिर्नका लागि ३२ अर्ब ९३ करोड र ब्याज तिर्नका लागि ६ अर्ब ६१ करोड खर्च भएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनले मात्रै ७० अर्ब ९ करोड बराबर सार्वजनिक ऋणको दायित्व थपिएको कार्यालयले जनाएको छ। नेपालले वैदेशिक ऋण ‘स्पेसल ड्रइङ राइट’ (एसडीआर) अन्तर्गतका पाँचवटा विदेशी मुद्रामा लिन्छ। जसमा अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येन पर्छन्। चालु आर्थिक वर्षमा एसडीआरको विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋण दायित्वमा थप प्रभाव परेको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
