तुलसी दिवसलाई यस वर्षको वसुन्धराश्री पुरस्कार

वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को वसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ।

काठमाडौँ– वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को वसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको शनिबारको विशेष बैठकले उनीहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए।

आधुनिक नेपाली कविताहरूको सिर्जना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनद्वारा नेपाली साहित्य र संस्कृतिलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली वाङ्मय क्षेत्रलाई वैभवशाली र गरिमामय बनाउन दिवसको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो। उक्त पुरस्कारको राशि ७५ हजार रुपैयाँ छ।

विसं १९९८ असारमा धनकुटामा जन्मिएका दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृति प्रकाशित छन्।

शनिबारको बैठकले आधुनिक नेपाली कविता, मुक्तक र कथामार्फत नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गुरुङलाई ५० हजार राशिको मानश्री पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ। विसं २००४ चैतमा सिन्धुपाल्चोकमा जन्मिनुभएका विशिष्ट साहित्यकार गुरुङका सूर्यदह, धुपी, देवल घुमेपछि, तोया गुरुङका कविता, पुनरावती, कुसुम र अस्पृश्य कृतिहरू प्रकाशित छन् ।

प्रतिष्ठानले २०५७ सालदेखि नेपाली साहित्यमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई उक्त पुरस्कारहरू प्रदान गर्दै आएको छ।