अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्ट यो महोत्सव परिकारहरूको प्रदर्शनी मात्र नभई नेपाली सेफहरूको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजीव दस्ताबेज रहेको बताउँछन्।
काठमाडौँ– भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त छिन्। छेवैमा पाक्दै छ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार। सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरूको ध्यान गइरहेको देखिन्छ। खाना पारखीहरू स्वाद मानी मानी खाइरहेको देखिन्छन्।
नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाएकाले महोत्सवमा यसको स्वाद चखाउन आएको बताउँछिन्। रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जितेकी उनले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउँछिन्। सुब्बा भन्छिन्, “हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ। हामीले सबै परिकारलाई थोरै मात्र परिष्कृत गरेर पस्किन सक्यौँ भने यसले अन्तर्राष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ ।”
उनको छेवैको स्टलमा नेवारी परिकारहरू बारा, योमरी, छोयला राखिएका छन्। खोकनाको तोरीको तेल, बेसार आदि पनि स्टलमा बेच्न राखिएको छ। भिलेज क्याफेकी पुनमाया डंगोलले नेवारी परिकारहरूलाई प्रवर्द्धन र यसको स्वाद सबैमाझ पुर्याउन महोत्सवमा सहभागी भएको बताउँछिन्। “क्याफेमा त थुप्रै परिकारहरू पाइन्छन्। आज भने हामीले यति मात्र ल्याएका छौँ। नेवारी परिकारहरू धेरैको जिब्रोमा झुन्डिएको छ। धेरैले रुचाइ दिनुभएको छ,” उनले भनिन्।
विगत डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्ग्यानिक प्रालि’ सञ्चालन गर्दे आएकी सीता आचार्य मौरी संरक्षणकर्मी हुन्। उनीसँग १५० वटा मौरीका घार छन्। उनले मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबालीको ब्रान्डिङ गरेर बेच्दै आएकी छन्। उनको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याँख्ला, सातु, गुन्द्रुकलगायत २० प्रकारका सामग्री छन्। आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी रहेको छ। “यी अन्नहरू मधुमेह, उच्च रक्तचापका बिरामीलाई खान मिल्छ। कतिलाई थाहा छैन। थाहा हुनेले खोजेर खानुहुन्छ”, उनी भन्छिन्।
परम्परागत र मौलिक खानाको संगम रहेको खाना महोत्सवमा मोही पनि बिक्रीका लागि राखिएको छ। ओखलढुंगे डेरी एन्ड एग्री फुड प्रालिले दुग्धजन्य पदार्थहरूलगायत मिठाइ, आइसक्रिम, भुजिया, निम्की, पनिर तथा चिज मःम बेच्दै आएको छ। डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेय पदार्थभन्दा कैयौँ गुणा मोही स्वस्थ्यकर भएकाले यसको ब्राण्डिङमा लागेको सुनाए।
“स्थानीय उत्पादन मोहीलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने उद्देश्यले हामीले शुरू गरेका हौँ। गुलियो चिसो पेय पदार्थभन्दा गर्मीमा मोहीले शीतल गराउँछ,” उनले भने।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्ट यो महोत्सव परिकारहरूको प्रदर्शनी मात्र नभई नेपाली सेफहरूको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजीव दस्ताबेज रहेको बताउँछन्।
भट्टले नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको बताउँछन्। “विश्वसामू चिनाउने हाम्रो सपना हो। यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ,” उनी भन्छन्।
खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँगै आधुनिक परिकारको प्रदर्शनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ।
महोत्सवमा ५० वटा स्टल, (४० वटा खानाका ५ वटा रैथाने बालीनालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी) रहेको छ। खानाका स्टलमा विभिन्न जात जातिको खाना (नेवारी, थारू, राई लिम्बु, थकाली, आदि)को परिकारहरू राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
