सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृंखला तथा तराईका फाँट अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणीपोखरीको स्तरोन्नतिपछि पर्यटक बढ्ने अपेक्षा गरेका स्थानीय पोखरीको पानी सुकेपछि निराश बनेका छन्।
खोटाङ– खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ स्तरोन्नतिका लागि दुई करोड रुपैयाँभन्दा बढी लगानी गरिएको थियो। बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित संघ, प्रदेश र स्थानीय तहले दुई करोड १२ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका हुन्।
परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ। प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो। यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीयवासी हर्षित भएका थिए। त्यस विपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुईंमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ। यसले स्थानीयको खुसी धेरै टिक्न सकेन।
यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) थियो। हरेक नयाँ वर्षको दिन बृहत् मेला लाग्ने गर्दछ। समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भुईँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेराबार निर्माण गरिएको छ।
इन्द्रेणीपोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ। पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरीमाथि इन्द्रेणीको स्वरूप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत बनाइएको छ।
राज्यकोषको २० लाख रुपैयाँ रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावाहुरीले ढाल्यो र पुनः राखियो। फरक–फरक समयमा फरक–फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणीपोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो।
पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको ४० लाख रुपैयाँ, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट २० लाख रुपैयाँ गाउँपालिकाको एक करोड ५२ लाख रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँट अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणीपोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको थियो। स्तरोन्नतिको काम गरिएसँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीय निराश बनेका छन्।
प्राकृतिक संरचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुंगेले गुनासो गरे। “राज्यकोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ। इन्द्रेणीपोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन”, उनले भने, “बिनाअध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ। यसले पोखरीको ऐतिहासिकता नै संकटमा परेको छ।”
इन्द्रेणीपोखरीबाट धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तरपूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोलढुंगा, कपासे तथा रोक्सिम भन्ज्याङलगायत पर्यटकीयस्थलहरू जोड्न सडक मार्गसमेत निर्माण गरिएको छ। राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणीपोखरीमा बाह्रै महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन्।
पर्यटन प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोगविहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए। “इन्द्रेणीपोखरीमा कुनै पनि मुहान छैन। प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलानसमेत चिरा–चिरा भएर फुटेको छ। अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन”, उनले भने।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरूले पनि आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलहरूको स्तरोन्नति गरिरहेका छन्। हलेसी, बराहपोखरी, टेम्के, जन्तेढुंगा, तावाभन्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायत धार्मिक तथा पर्यटकीयस्थलहरू स्तरोन्नतिको काम सुरु गरिएको छ। त्यहाँ पनि सतर्कता अपनाउन समयमै ध्यान दिनुपर्ने सरोकार भएकाहरूको आग्रह छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
