सम्झौताको ९ वर्षसम्म दोदामा निर्माण भएन पुल

पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो।

दोधारा चाँदनी– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षसम्म बनेको छैन।  

पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि काम हुन नसक्को हो। 

डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार पुल निर्माणको सम्झौताअनुरूप त्यतिबेला काम शुरू भएर तीन पिलरसम्म निर्माण भएका थिए। तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण हुन नौ वर्ष लाग्यो। पिलरको फाउन्डेसनमै समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल निर्माण गर्नुपरेको उनले बताए। 

पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको सबइन्जिनियर रानाले बताए। “अहिले पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ असारसम्म सक्ने तयारी छ,” उनले भने। सम्झौताअनुसार पुल निर्माणको काम आगामी माघमा सक्नुपर्ने छ। पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुलको ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए। 

दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका छन्। बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाँडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीय रघुवीर राना बताउँछन्।  

“नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले ज्यान जोखिममै राखेर बर्खामा नदी तर्नुपर्थ्यो,” उनले भने, “अहिले त पुल आधा बनिसक्यो, हामी खुशी छौँ।”