काभ्रेमा बाढीपहिरोको ७ महिनापछि थालियो निजी आवासको क्षति आकलन

रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम थालिएको छ। यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम गर्नेछ।

काभ्रेपलान्चोक– गत असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलान्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्‍यायो। घटनाको करिब सात महिनापछि सरकारले निजी आवासको विस्तृत क्षति आकलन शुरू गरेको छ। 

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट यसको शुरूआत गरे। उनले उक्त पालिकाको वडा नं २ का तीन जना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आकलनको शुरूआत गरेका हुन्। त्यस दिन पीडित स्थानीय धनसिंह लामा, राजन बोहरा क्षेत्री र शुभद्रा सेन्चुरीले गृहमन्त्रीबाट निस्सा प्राप्त गरे। उक्त घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशनसमेत दिए। 

गृहमन्त्री लेखकले प्रक्रियागत रूपमा बाढीपहिरोबाट प्रभावितको पुनर्निर्माण गर्न ढिलो भएको स्वीकार गर्दै अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउने जानकारी गराए। सरकारले बुधबार मात्र अस्थायी आवास निर्माणका लागि काभ्रेमा ७ करोड ३५ लाख निकासा गरेको छ। काभ्रेपलान्चोकमा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ। यसको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष रूपमा ध्यानाकर्षण गराइएको छ। 

रोशी गाउँपालिकामा ५६३ घर क्षति भएका छन्। रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम थालिएको छ। यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम गर्नेछ।

बढीपहिरोबाट विस्तृत क्षति आकलनपछि जिल्लामा पुनर्निर्माणको काम गर्न सहज भएकाले अब यसले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल बताउँछन्। “अब प्रभावित क्षेत्रका निजी घरका साथै पुल, भौतिक संरचना, तटबन्धनलगायत पूर्वाधार निर्माणमा पनि सरकारले सहयोग गर्न सहज हुने विश्वास गरेका छौँ,” ढकालले भने। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ दिनेश भट्ट पीडितले अस्थायी र स्थायी आवास निर्माणको काम एकैपटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आकलनको काम भने अनिवार्य हुनुपर्ने बताउँछन्। “यसअघि स्थानीय तहले प्राधिकरणको पोर्टलमा प्रविष्ट गरेको र अबको पूर्ण क्षति आकलनबाट यकिन तथ्यांकबाट अझ प्रभावकारी राहत/अनुदानका लागि सहज हुनेछ,” उनी भन्छन्। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले आउँदो वर्षाअघि रोशीमा जाने सडक निर्माणमा जोड दिनसके मात्र अस्थायी र स्थायी आवास निर्माण गर्न सकिने बताउँदै फलामेटारमा बाढीले बगाएर केही बाँकी रहेको पुललाई जोगाउन नसके आगामी दिन अझ कठिन हुने भन्दै सरकारको ध्यानाकर्षण गराए। 

बाढीपहिरोबाट काभ्रेपलान्चोकमा ८१ जनाको निधन भएको छ। ६ जना अझै बेपत्तामा सूचीकृत भएका छन्। यहाँ अर्बौँका भौतिक संरचना, पुल, अस्पताल, विद्यालय, संग्रहालयलगायत बाढीपहिरोले क्षति पुर्‍याएको थियो। बाढीपपहिरोले जिल्लाको १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाको रोशी क्षेत्र तथा रोशी र बेथानचोक गाउँपालिकामा सबैभन्दा बढी जनधनको क्षति पुगेको थियो।