राष्ट्र बैंकको अध्ययन : ४२ प्रतिशत जनसंख्यामा पुगेन वित्तीय साक्षरता

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ६४.५ प्रतिशत र मधेशमा सबैभन्दा कम ५२ प्रतिशतमा वित्तीय साक्षरता रहेको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकको अध्ययनले अझै पनि ४२ प्रतिशत जनसंख्यामा वित्तीय साक्षरता पुग्न बाँकी रहेको देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरतासम्बन्धी आधारभूत अध्ययनले ५७.९ प्रतिशत जनसंख्यामा वित्तीय साक्षरता रहेको तर ४२.१ प्रतिशत जनसंख्यामा वित्तीय साक्षरता नपुगेको देखिएको हो।

केन्द्रीय बैंकले अध्ययनका लागि ७७ जिल्लाका १८ वर्षमाथिका कुल ९ हजार ३६१ जनालाई छनोट गरेको थियो। १८ देखि ३० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी साक्षर ६३.२ प्रतिशत रहेको अध्ययनले देखाएको छ। ३० देखि ६० वर्ष उमेर समूहका २७.९ प्रतिशत नेपाली मात्र वित्तीय क्षेत्रबारे जानकार रहेको पनि अध्ययनले देखाएको छ।

अध्ययन प्रतिवेदनअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ६४.५ प्रतिशत र मधेशमा सबैभन्दा कम ५२ प्रतिशतमा वित्तीय साक्षरता रहेको छ। त्यस्तै, महिलाको तुलनामा पुरुषमा ७.५ प्रतिशत बढी साक्षर रहेको पनि केन्द्रीय बैंकले जनाएको छ। औपचारिक क्षेत्रमा कार्यरत जनसंख्यामा बढी वित्तीय साक्षरता रहेको अध्ययन प्रतिवेदनमा औँल्याइएको छ।

रोजगार, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सिप चाहिने पेसा र कृषि क्षेत्रबाहेक औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिको वित्तीय ज्ञान तुलनात्मक रूपमा धेरै रहेको पाइएको छ।

वित्तीय समावेशिताको स्थिति आकलन गर्न वित्तीय उपकरणको प्रयोगलाई हेरिएको राष्ट्र बैंकको भनाइ छ। वयस्क जनसंख्याको वित्तीय प्रयोगका सूचकमा ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ८६.६४ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण, ३०.०२ प्रतिशतले बीमासेवा र ४६.३४ प्रतिशत ऋण उपकरण प्रयोग गरेको पाइएको छ।

बचत उपकरणमध्ये ७१.०६ प्रतिशत वयस्क जनसंख्याले बचत खाताको प्रयोग गरेको पाइएको छ भने लगानी कोष सबभन्दा कम प्रतिशत जनसंख्याले प्रयोग गरेका छन्।

अझै पनि ठूलो संख्यामा (४५.५४ प्रतिशत) मानिस सामूहिक बचत-ऋण प्रयोग गरिरहेका छन्। २३.९७ प्रतिशत वयस्क जनसंख्याले स्टक तथा सेयर राखेका छन्। तुलनात्मक रूपमा युवापुस्ताको उच्च हिस्साले बचत, लगानी उपकरणको प्रयोग गर्ने गरेको पाइएको छ। अन्य क्षेत्रको तुलनामा कृषि र निर्माण क्षेत्रमा संलग्न व्यक्तिले थोरै हिस्सा मात्र बचत उपकरण प्रयोग गरेका छन्।