अमेरिकी संसद्मा जेलेन्स्कीले भने– रुससामु आत्मसमर्पण गर्दैनौँ

अमेरिकी संसद्मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग डटेर लड्नका लागि सहयोगको आवश्यकता रहेको बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रुससामु आत्मसमर्पण नगर्ने बताएका छन्। अमेरिकी संसद्मा सम्बोधन गर्दै उनले जस्तोसुकै खराब परिस्थिति आए पनि आफू नडगमगाउने र रुससामु कहिल्यै आत्मसमर्पण नगर्ने बताएका हुन्। बरु डटेर युद्ध लड्नका लागि आफूलाई थप हतियार आवश्यक परेको उनको भनाइ थियो।

यस्तै, अमेरिकाले युक्रेनलाई सहयोगका लागि २ अर्ब डलरको नयाँ सहायता प्याकेज उपलब्ध गराउने निर्णय गरेको छ। थप ४५ अर्ब डलर सहयोगको प्रतिबद्धता पनि जनाएको छ। अमेरिकाले युक्रेनमा मानवीय, आर्थिक र सुरक्षासम्बन्धी सहायताका लागि ५० अर्ब डलरको प्रतिबद्धता यसअघि नै गरिसकेको छ। यति ठूलो सहयोग अमेरिकाले यसअघि कुनै पनि मुलुकलाई नगरेको बताइएको छ।

अमेरिकाले सहयोग गर्ने भनेको ४५ अर्ब डलर प्याकेज त्यहाँको संसद्ले पारित गर्नुपर्ने हुन्छ। युक्रेनको स्वतन्त्रता र मूल्य-मान्यताको रक्षाका लागि यो सहयोग संसद्बाट पारित हुनेमा आफू विश्वस्त रहेको जेलेन्स्कीले बताए।

युक्रेनलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्ति गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध रोक्ने मनसाय रुसले नलिएको भन्दै युक्रेनको सधैँ साथ दिने प्रतिबद्धता जनाए।

अमेरिकी साथ र सहयोगका लागि धन्यवाद दिँदै जेलेन्स्कीले युक्रेनलाई प्राप्त सहयोग कल्याणकारी मात्र नभएर विश्वव्यापी सुरक्षा र प्रजातन्त्र प्राप्तिका लागि लगानी भएको बताए।

अमेरिकी सहयोगले युक्रेनको स्थिति नियन्त्रणमा रहेको बताउँदै जेलेन्स्कीले भने, “युक्रेनी साहस र अमेरिकी संकल्पले हाम्रो साझा स्वतन्त्रताको भविष्य निर्धारण गर्नेछ। यस युद्धले अमेरिकादेखि चीनसम्म, युरोपदेखि ल्याटिन अमेरिकासम्म, अफ्रिकादेखि अस्ट्रेलियासम्म प्रभाव पारेको छ। कुनै न कुनै रूपमा यी सबै जोडिएका छन्।”

युक्रेनको स्वतन्त्रता, राष्ट्रिय अखण्डता र सार्वभौमिकता प्राप्तिपछि मात्र युद्ध रोकिने र युद्धका क्रममा भएको क्षति रुसले बेहोर्नुपर्ने जेलेन्स्कीको अडान छ।

जेलेन्स्कीको भ्रमणको केही समयअघि अमेरिकाले ब्यालेस्टिक क्षेप्यास्त्रसहितको १ अर्ब ८० करोड डलर बराबरको सैन्य सहायता प्याकेज युक्रेनलाई दिने घोषणा गरेको थियो। यस्तै, त्यहाँको संसद्ले यसै साता त्यस विषयमा र ४५ अर्ब डलरको थप आकस्मिक सहयोगका लागि मतदान गर्ने तयारी गरेको छ।

यता, अमेरिकाले युक्रेनलाई सुरक्षा सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरिरहँदा रुसी विदेश मन्त्रालयले यस्तो सहयोगलाई आक्रमणका लागि उक्साउने कदममा रूपमा लिने बताएको छ।

बुधबार मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि रुसलाई दोष दिन नमिल्ने बताएका थिए। युद्धका कारण दुवै मुलुकले दुःख पाइरहेको पुटिनको भनाइ थियो।