डाक्टरहरूको टोलीमाथि आक्रमण गरेको घटनामा इजरायलले स्वीकार्‍यो गल्ती

इजरायली सेनाले गत महिना गाजामा १५ प्यालेस्टिनी डाक्टरको हत्या गल्तीबस भएको जनाएको छ।

फाइल तस्वीर

इजरायली सेनाले गत महिना गाजामा १५ प्यालेस्टिनी आपतकालीन डाक्टरको हत्या गल्तीबस भएको जनाएको छ। आइतबार इजरायली अनुसन्धानले व्यावसायिक त्रुटिहरू फेला पारेको र त्यसका कारण एक उपकमान्डरलाई बर्खास्त गरिएको बताएको छ।

सम्बन्धित युनिटका उपकमान्डरलाई 'अनुसन्धानको क्रममा अपूर्ण र गलत रिपोर्ट दिएकोमा' बर्खास्त गरिएको सेनाको प्रतिवेदनमा उल्लेख छ। ती कमान्डरले एम्बुलेन्सहरूलाई हमासका लडाकुहरू ठानेका सैन्य अनुसन्धानले पत्ता लगाएको हो।

गत मार्च २३ मा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस)का एम्बुलेन्सहरूको लस्करलाई इजरायली सेनाले आक्रमण गरेको थियो, जसमा संयुक्त राष्ट्र संघको कार र दमकल पनि समावेश थिए। मृत्यु हुनेमध्ये आठ जना रेड क्रिसेन्टमा कार्यरत, गाजाको नागरिक सुरक्षा आपतकालीन एकाइका छ सदस्य र प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी (यूएनआरडब्ल्यूए) का एक कर्मचारी रहेका छन्। ती सबै चिकित्सक अन्तर्राष्ट्रिय रेडक्रस/रेड क्रिसेन्टले यो आठ वर्षमा आफ्ना कर्मचारीहरूमाथि भएको सबैभन्दा घातक आक्रमण भएको बताएको छ।

यसअघि इजरायलले अँध्यारोमा हेडलाइट वा फ्ल्यासबिना शंकास्पद रूपमा गाडीहरू अगाडि बढिरहेकाले सेनाले त्यसमाथि गोली चलाएको बताएको थियो। तर पछि आफ्नो बयान फिर्ता लियो। एक डाक्टरबाट बरामद गरिएको सेलफोन भिडियोले इजरायलको प्रारम्भिक भनाइको खण्डन गर्‍यो। 

इजरायली सेनाले डाक्टरहरूमाथि गरेको गोलीबारीलाई अन्तर्राष्ट्रिय समुदायले युद्ध अपराधको रूपमा वर्णन गरेको छ। अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत यद्धक्षेत्रमा चिकित्साकर्मीहरूले विशेष सुरक्षा पाउँछन्।