कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित ४ जनाको मृत्यु

पलाँता गाउँपालिका–९ थिर्पुबाट खाद्यान्न, खुद्रा सामान लिएर पलाँता–४ छलतर्फ जाँदै गरेको ट्र्याक्टर बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतीकात्मक तस्वीर

सुर्खेत– कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। पलाँता गाउँपालिका–९ थिर्पुबाट खाद्यान्न तथा खुद्रा सामान लिएर पलाँता–४ छलतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका  २५ वर्षीय चन्द्रप्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २५ वर्षीया अम्बा शाही छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

उनका अनुसार दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ। शवहरू भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।