प्रविधि प्रभावः युवा पुस्ताको जात्रा लाइभ...

पत्रिकाको पहिलो पृष्ठमा छापिने एउटा फोटो र टीभीको छोटो ‘टाइम स्लट’बाट जात्राले मिडियाको ‘फराकिलो सडक’को यात्रा गरिरहेको छ, अहिले फेसबुक पेज र युट्युबका लागि गतिलो कन्टेन्ट बनेको छ।

तस्वीर सौजन्य: मनोजरत्न शाही

काठमाडौँ– उपत्यका अहिले जात्रामय छ। भक्तपुर, टोखा र मनमैजुको बिस्काः जात्रा होस् वा हाँडीगाउँको गहना खोज्ने जात्रा, अथवा चापागाउँको बज्रवाराही जात्रा। उपत्यकाबाहिर पनि जात्राको रौनक छ। नुवाकोटको भैरवी जात्रा होस् वा दोलखाको रातो मत्स्येन्द्रनाथ जात्रा, यी सबै नयाँ वर्षको पहिलो हप्ता सम्पन्न भएका छन्। तर जात्रा अझै बाँकी छन्।

मातातीर्थ औँसीको दोस्रो दिनबाट विधिवत् रूपमा रथारोहण हुन लागेको रातो मस्त्येन्द्रनाथको जात्राको तयारी पाटनमा भइरहेको छ। साँखुको बज्रयोगिनीको जात्रा अझै चलिरहेको छ।

नेवार समुदायले मनाउने यी जात्रामा धिमे, झ्यालीलगायत बाजाको तालमा स्थानीय रमाउँछन्। पछिल्लो समय जात्राको भिडमा क्यामेरा, मोबाइल, गिम्बल चलाइरहेका हातहरू प्रशस्तै देखिन्छन्। यी साधन चलाउनेमा विशेषतः युवा नै छन्। पछिल्लो एक दशकमा जात्रालाई सामाजिक सञ्जालमा प्रत्यक्ष देखाउने चलन बढ्दो छ।

जात्राको ‘लाइभ’ गर्ने र अनेक भावभंगीका फोटो सामाजिक सञ्जालमा राख्ने काम युवा पुस्ताले गरिरहेको छ। जात्राको लाइभ अपडेट गर्ने हाम्रो जात्रा, दि नेवार्स, हाम्रो मठमन्दिरलगायत पेज पनि छन्।

जात्रा खिच्नेकै भिडमा भेटिन्छन् श्याम था श्रेष्ठ। पेसाले आईटी इन्जिनियर उनी भक्तपुर नयाँ ठिमीका बासिन्दा हुन्। उनी १० वर्षदेखि ‘हाम्रो जात्रा’ फेसबुक पेजमार्फत जात्रालाई लाइभ गर्दै हिँडिरहेका छन्। यसपटक ठिमीमा वैशाख २ गते सिन्दुरे र जिब्रो छेड्ने जात्राको लाइभ गरेपछि वैशाख ७ गते दोलखाको रातो मत्स्येन्द्रनाथको जात्रा खिच्न पुगे। त्यहाँबाट फर्किएका उनी बज्रयोगिनीको जात्रा लाइभ गर्न साँखु पुगिसकेका छन्।

जात्रा लाइभ गर्दा तथा फोटो र भिडियो खिच्दा आत्मसन्तुष्टि मिल्ने श्याम बताउँछन्। उनी भन्छन्, “मेरो कमाइबाट केही सेभिङ गरिरहेको थिएँ, शुरूमा त्यहीबाट काम चलाएँ। साथीभाइ छरछिमेकीले मेरो यो कामलाई बुझ्न सकिरहेका थिएनन्। परिवारले सही गरिस् अथवा गलत भनेर मुख फोरेरै भन्न सकिरहनु भएको थिएन। उहाँहरूको मौनतालाई मैले समर्थन मानेँ।”

श्याम था श्रेष्ठ (ल्यापटप चलाउँदै)

जात्रा लाइभ गर्नुको औचित्य आफ्नो सोख मात्र नभई सेवासँग पनि जोडिने उनी बताउँछन्। “जात्रा भिडभाडयुक्त ठाउँ हो, त्यहाँ जान नसक्ने वृद्धवृद्धा तथा विदेशमा रहेका साथीभाइले लाइभमार्फत हेर्न पाएकोमा खुशी व्यक्त गर्नु हुन्छ। त्यसले मलाई आनन्द दिन्छ,” उनी भन्छन्।

यसबाहेक, उनले जात्राका चालचलन र विधिलाई पनि नजिकबाट नियाल्न पाएका छन्। यी सबैको अभिलेख भविष्यमा महत्त्वपूर्ण हुने उनको ठम्याइ छ। शुरूआतमा आफ्नै आसपासका जात्राहरूबाट लाइभ शुरू गरेका उनले अहिले भने सकेसम्म चर्चामा नआएका स्थानीयस्तरका जात्राको भिडियो बनाउन रूचाउँछन्।

काठमाडौँको असनमा पाहाः चह्रे पर्दा बालाजुभित्रका बस्तीमा पनि स्थानीय जात्रा भइरहेको हुन्छ। उनको ध्यान ती स्थानीय जात्रातिर मोडिन्छ। यस्ता जात्राको खोजीमा उनी चित्लाङलगायत नेवार बस्ती पुगेका छन्। 

अभिव्यक्तिका माध्यम फरकफरक
फोटो पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताएका मनोजरत्न शाही प्रविधिसँगै अभिव्यक्तिको माध्यम परिस्कृत हुँदै गएको बताउँछन्। जात्रामा नयाँ प्रविधि र उपकरण प्रयोगबाट युवा पुस्ताको उपस्थिति बलियो भएको उनको भनाइ छ। “दशकअघिसम्म पत्रिकाका फ्रन्ट पेजमा आउने एउटा फोटो अनि टीभीमा केही मिनेटका समाचारको रूपमा देखाइने झलकमा जात्रा सीमित थियो। अहिले सामाजिक सञ्जालमा भेटिन्छ,” उनी भन्छन्, “फोटो पत्रकारको रूपमा पत्रिका र टीभीमा देखाउन नसकेका फोटो र भिडियो देखाउने माध्यम मैले पनि पाएको छु।”

गत वैशाख २ गते साँझ मनोजलाई भेट्दा उनी भर्खरै भक्तपुरको सिन्दुरे जात्रा खिचेर आएका थिए। उनी आफ्नो कामलाई नयाँ कोण र दृष्टिकोणबाट जात्रामा नदेखिएका पाटा देखाउने रूपमा बुझ्छन्।

मनोजरत्न शाही (दायाँ) र उनले खिचेका तस्वीर

‘वाइड एंगल लेन्स’बाट खिचिएको र पत्रिकाको फ्रन्टपेजमा छापिने एउटा फोटो तथा टीभीको सानो टाइम स्लटबाट जात्रा मिडियाको फराकिलो ‘सडक’मा पुगेको छ। डकुमेन्ट्रीमा कलात्मकता भरेर देखाउन सकिन्छ। ती डकुमेन्ट्रीलाई फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालबाट देखाउन सकिन्छ। यसले ‘डिजिटल आर्काइभिङ’लाई बलियो पनि बनाएको मनोज बताउँछन्।

मनोजले सिन्दुरे जात्राको ‘फिस आई सट’ खिचेका थिए। “पत्रिका अथवा टीभीमा सितिमिति यस्ता फोटो राखिँदैन। आममानिसले आँखाले जति देख्ने हो, त्यति नै बुझ्ने हो,” उनी भन्छन्, “यस्तोमा हामीले नयाँ अनि युनिक सट खिचेर सामाजिक सञ्जाल वा डकुमेन्ट्रीमा देखाउन पाइरहेका छौँ।”

मनोजलाई इन्द्र जात्रा एकदमै मनपर्छ। इन्द्र जात्रामा उपाकू अर्थात्, दिवंगत आत्माका लागि बत्ती बालेर हिँड्ने लस्करमा उनी पनि समाहित हुन्छन्। यो उनको लागि जात्राको विशेष अंश हो। यसमा सहभागी हुँदा आफ्ना पितृलाई सम्झेर मन हल्का हुने उनी बताउँछन्।

जात्राको फोटो, भिडियो खिच्न हरदम दौडिने, तर आफूलाई फोटोग्राफर अथवा भिडियोग्राफरको रूपमा नचिनाउने पनि भिडमा भेटिन्छन्। भक्तपुरका रवन कपालीको सोख त्यस्तै छ, जो आफूलाई सांस्कृतिक अभिलेखकर्ता बताउँछन्। उनी आफूले खिचेको भिडियो र फोटोहरू सामाजिक सञ्जालमा राख्दैनन्।

“जात्रामा हरेक मानिसको अनुहार हँसिलो देखिन्छ, मलाई त्यही हँसिलो अनुहारको लोभ लाग्छ,” कपाली भन्छन्, “जात्राको रौनकले मानिसमा देखिने उत्साह र हँसिलो अनुहार कैद गर्न विभिन्न स्थानमा पुग्ने गर्छु।” जात्राबाहेक उनी नेवार समुदायमा प्रचलित जंकु, व्रतबन्ध, ईही (बेल विवाह), मृत्यु संस्कारलगायत सांस्कृतिक कार्यको पनि अभिलेख राख्छन्।

रवन कपाली (दायाँ) र उनले खिचेका तस्वीर

रवन भक्तपुरको सूर्यविनायकमा फ्रेम पसल चलाउँछन्। तर जात्रा हुँदा पसल नै बन्द गरेर फोटो खिच्न पुग्छन्। एक दशकभन्दा बढी समयदेखि फोटोग्राफी गरिसकेका उनी जात्रा र पर्वले मानिसमा सामुदायिक भावना विकास गर्ने बताउँछन्। “घर–अफिसमा व्यस्त रहने दैनिकीलाई खुकुलो पार्ने काम नै जात्राले गर्छ,” उनी भन्छन्, “त्यो बेला मानिसहरूका अनुहारमा झल्कने चमकलाई म अभिलेखमा राख्न रुचाउँछु।”

सामाजिक सञ्जालमा सक्रिय नभए पनि उनले आफ्नो फोटो प्रदर्शनी भने गरेका छन्। उनले माधवनारायण यात्राको दुई वटा र भक्तपुरको अष्टमीमा हुने खमे जात्राको एउटा गरी तीन वटा फोटो प्रदर्शनी गरेका छन्। २०७४ सालमा उनको फोटो पुस्तक ‘माधवनारायण’ पनि प्रकाशित छ। दुई वर्षअघि बिस्काः जात्राको पुस्तक पनि प्रकाशित गरेका छन्।

जो जात्रा लाइभ गर्छन्
‘दि नेवार्स’ फेसबुक पेज जात्रासम्बन्धी अपडेट, फोटो, भिडियो र लाइभमा सक्रिय छ। १२ वर्षअघि नेवार संस्कृतिको जानकारी दिने हेतुले शुरू भएको यो पेजले काठमाडौँ उपत्यका मात्र नभई नेपाल मण्डलअन्तर्गत पर्ने दोलखा, नुवाकोटसम्मको जात्रा देखाउँदै आएको छ।

यस पेजका संस्थापक हुन्, विवेक तण्डुकार। फोटोग्राफीमा उनी ‘पुन्टे डायरिज’ भनेर चिनिन्छन्। उनी सन् २००९ देखि नै फोटोग्राफीमा सक्रिय छन्।

नेवार समुदायको कला, संस्कृतिलाई सामाजिक सञ्जालमार्फत टेवा पुर्‍याउने हेतुले शुरूमा उनीहरूले ‘नेवा ब्युटिज’ नामक फेसबुक पेज खोलेका थिए। पछि सत्यमोहन जोशीलाई भेटेपछि उनैले दि नेवार्स नाम राख्न सुझाव दिएको विवेक बताउँछन्। “नेवार संस्कृति र यसका पक्षबारे उजागर गर्ने हिसाबले नेवाः ब्युटिज राखेका थियौँ। सोही क्रममा हाम्रो भेट शताब्दी पुरुष सत्यमोहन जोशीसँग भयो,” उनी भन्छन्, “नेवाः भन्दा नेवार शब्द बढी प्रचलित र समुदायको समष्टिगत भावलाई समेट्ने कारण उहाँले दि नेवार्स नाम राख्न सुझाव दिनुभएको थियो।”

दि नेवार्स टिमले खिचेका तस्वीर

विदेशीहरूले समेत नेवार शब्दलाई बुझ्ने हुँदा भविष्यमा ठूलो प्ल्याटर्फमको सम्भावना पनि सत्यमोहनले देखाएको विवेक सम्झन्छन्। सत्यमोहनको ढाडसपछि नौ जनाको टोली विभिन्न स्थानका जात्रा देखाउन थाले। सोही टिमका सदस्यमध्ये काठमाडौँका सागर डंगोल, टेबहालकी निभा डंगोलले काठमाडौँको जात्रा खिच्छन्। बनेपाका निकेश महर्जन बनेपाकै जात्रा खिच्छन्। पोखराका अमित रञ्जित, ठिमीकी प्रजिता श्रेष्ठ, नैकापका प्रदीप महर्जन र चापागाँउका सिजन श्रेष्ठ पनि फोटोग्राफी र लाइभमा सक्रिय छन्।

प्रायः नयाँ वर्षको छेकोमा एकैपटक धेरै ठाउँमा जात्रा जुध्छ। यस्तो बेला समूहका सबैले काम बाँडफाँड गर्छन्। “चैत २८ गते हलचोकको १२ वर्षे जात्राको ख्वपा (मुकुण्डो) निकाल्ने कार्यक्रम थियो। त्यहाँपछि सुनकोठीमा देवता राखेको ठाउँमा पुग्यौँ। त्यहाँ जात्रा साँझमा मात्र शुरू हुने रहेछ, अनि हामी बुलुको भैरव जात्रामा गयौँ,” विवेक भन्छन्, “साँझमा सुनाकोठीको जात्रा कभर गरेर कमलादीस्थित कमलादी गणेशको जात्रासमेत भ्यायौँ।”

जात्रा एकैदिन हुँदा पनि शुरू हुने साइत फरक पर्दा सबैतिर भ्याउने प्रयास गर्छन्। तैपनि भ्याइनभ्याइ हुन्छ। उपत्यका बाहिरको जात्राका लागि भने विवेक नै बढी सक्रिय रहन्छन्। उनी गत वर्ष नुवाकोटको भैरवी जात्रामा पुगेका थिए। यस वर्ष दोलाखामा हुने रातो मस्त्येन्द्रनाथको जात्रामा जाँदैछन्। 
विवेकका अनुसार उनीहरूको समूह जात्रामै भेटिएर बनेको हो। समूहमा कोही आईटी इन्जिनियर छन्, कोही शिक्षक त कोही फोटोग्राफर। विभिन्न पेसामा भए पनि जात्राको लागि समय मिलाउने गर्छन्।

त्यति मात्र होइन, पोखरामा ६–६ वर्षमा हुने भैरव नाचको मुख्य पात्र ‘भैरव’ नै अमित रञ्जित हुन्। नैकापमा हुने सात गाउँले जात्रामा प्रदीप महर्जनको घरबाट कालिका माइको खट निस्कने गर्छ। ठिमीकी प्रजिता आफै पनि कुनै समय देवता नाच गणको सदस्य थिइन्। कुपन्डोलका विवेकले त्यहाँ आफ्नै नेतृत्वमा इन्द्र जात्रा निकाल्ने गरेका छन्।

जात्रामा कतिपय रित, विधि तथा कार्यक्रम खिच्न मनाही हुन्छ। यस्तोमा आफूहरूले क्यामेरा बन्द वा ‘डाउन’ गर्ने विवेक बताउँछन्। “प्रायः जात्रामा हामी निषेध गरेको विधिको फोटो लिँदैनौँ। कतिपय लोकल जात्रा हराउन थालेका कारण त्यस्तो तस्वीर भने सम्बन्धित गुठियारको मन्जुरीमा उहाँहरूकै अभिलेखका लागि खिच्छौँ,” विवेक भन्छन्, “हामी ती फोटो र भिडियो सार्वजनिक प्रयोगका लागि राख्दैनौँ।”

कोभिड महामारीको दोस्रो लहरमा भएको लकडाउनमा पनि उनीहरूले जात्रा लाइभ गरेका थिए। त्योबेला पाटनको रातो मस्त्येन्द्रनाथको जात्रा सुरक्षाकर्मीको घेरामा भएको थियो। सुरक्षा मापदण्डको विषयलाई लिएर सुरक्षाकर्मीसँग गुठियार र अभियन्ताको झडप पनि भएको थियो।

“एक ठाउँमा बसेर हामी लाइभ गरिरहेका थियौँ। त्यो दिन ८–९ घण्टा निरन्तर लाइभ गरेँ,” विवेक भन्छन्, “एक त कोभिडको कारण कोही निस्कन नपाएको, त्यो पनि तनावको वातावरण। हाम्रोमा लाइभ हेर्ने दर्शक १० हजारभन्दा बढी भए। अनि त जात्रा जसरी पनि पूरै देखाउनुपर्ने जिम्मेवारी महसुस भयो।”

साँझ लाइभ पश्चात थाकेर घर पुगेका उनी आराम गर्न खोज्दै थिए, उनले आफ्नो मोबाइलमा धेरै नोटिफिकेसन आइरहेको देखे। “हाम्रो इसेवामा हजारौँको ब्यालेन्स रिचार्ज लाइभ हेर्ने दर्शकले पठाइदिनु भएकोरहेछ। हामी सबै पूरै सप्र्राइज्ड भयौँ। रकमभन्दा पनि हाम्रो कामप्रतिको सम्मानले केही समय भावुक बनाएको थियो।”