शिक्षकहरूको आन्दोलनबीच शिक्षामन्त्री भट्टराईको राजीनामा

शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको छ।

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन्।

प्रधानमन्त्री ओलीलाई भेटेर भट्टराईले राजीनामा बुझाएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए।

“शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो,” उनले रासससँग भने, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन।”

चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो। 

कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भट्टराई २०८१ असार ३१ गते शिक्षामन्त्री नियुक्त भएकी थिइन्।