जलवायु परिवर्तनको असर : हिन्दकुश–हिमालयमा घट्दै हिउँ

हिन्दकुश–हिमालय क्षेत्रमा यस वर्ष २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेकोले दुई अर्ब मानिसको खानेपानीको स्रोतमा गम्भीर संकट उत्पन्न हुने खतरा रहेको वैज्ञानिकहरूले बताएका छन्।

एशियाको हिन्दकुश–हिमालय क्षेत्रमा यस वर्ष २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेको छ। जसका कारण करिब दुई अर्ब मानिसको खानेपानीको स्रोतमा गम्भीर संकट उत्पन्न हुने खतरा रहेको वैज्ञानिकहरूले बताएका छन्।

अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको यो हिमाली क्षेत्र आर्कटिक र अन्टार्कटिक क्षेत्रहरूबाहेककै सबैभन्दा धेरै हिउँ र बरफ हुने स्थान हो। यही हिउँ पग्लेर आउने पानीले दक्षिण एशियाका धेरै देशमा झन्डै दुई अर्ब जनताको जीवन धान्ने पानी आपूर्ति हुँदै आएको छ।

अन्तरसरकारी संस्था ‘एकीकृत पर्वतीय विकास केन्द्र’ (आईसीमोड)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, हिन्दकुश–हिमालय क्षेत्रमा हिउँ जम्ने समय सामान्यभन्दा २३.६ प्रतिशतले घटेको छ।

यो पछिल्ला २३ वर्षयताकै सबैभन्दा कम हो। यो अवस्था लगातार तेस्रो वर्ष देखिएकोले दीर्घकालीन असर पर्ने चेतावनी दिइएको छ।

प्रतिवेदनमा खोलानालामा पानीको बहाव कम हुने, भूमिगत पानीमा अत्यधिक निर्भरता बढ्ने र खडेरीको जोखिम उच्च हुने उल्लेख छ। प्रतिवेदन तयार पार्ने प्रमुख वैज्ञानिक शेर मुहम्मदका अनुसार, ‘यस वर्ष हिउँ पर्न ढिलो भयो र त्यति धेरै पनि परेन।’

यस क्षेत्रका कैयौँ देशले खडेरीको सम्भावनाबारे पहिले नै चेतावनी जारी गरिसकेका छन्। खेतीबाली उत्पादन, खानेपानीको पहुँच र गर्मी बढ्दै गएकोले जनजीवन थप कठिन हुने देखिएको प्रतिवेदनमा जनाइएको छ।

आईसीमोडका प्रमुख पेमा ग्यात्सोले जलवायु परिवर्तनका कारण अब हिउँसम्बन्धी गडबडी बारम्बार दोहोरिने निश्चितजस्तै भइसकेको बताए। अब दीर्घकालीन नीति निर्माण र तयारी आवश्यक भएको उनको भनाइ छ।

आईसीमोडले सदस्य राष्ट्रहरू अफगानिस्तान, बांग्लादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानलाई सशक्त पानी व्यवस्थापन, खडेरीको तयारी, समयमै सूचना दिने प्रणाली र क्षेत्रीय सहकार्यमा जोड दिन आग्रह गरेको छ।