बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आन्दोलनरत पक्ष र सरकारसँग आग्रह गरेको छ। 

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत शिक्षकका माग वार्ताका माध्यमबाट समाधान खोजी बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आन्दोलनरत पक्ष र नेपाल सरकारसँग आग्रह गरेको छ। 

आयोगले समयमै समस्याको सम्बोधन हुन नसकेमा लाखौँ विद्यार्थीमा मनोवैज्ञानिक रूपमा दूरगामी असर पर्न सक्ने उल्लेख गर्दै यस्तो आग्रह गरेको हो।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “समयमा नै समस्याको सम्बोधन हुन नसकेमा त्यसबाट लाखौँ विद्यार्थीमा मनोवैज्ञानिक रूपमा दूरगामी असर पर्न सक्ने, शिक्षाको अधिकार प्रचलनमा अवरोध हुनसक्ने र शैक्षिक क्यालेन्डर नै प्रभावित भई समग्रमा शिक्षा प्रणालीमा नै नकारात्मक प्रभाव पर्न सक्ने हुन्छ।”

आयोगले शान्तिपूर्ण र सहज तरिकाले समाधान खोज्नुपर्नेमा जोड दिएको छ। “यस विषयमा गम्भीर भई वार्ताको माध्यमबाट समस्या समाधान गरी सहज र शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन हुने वातावरण मिलाई शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आयोग आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारसमक्ष पुनः अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ।

विद्यालयमा शैक्षिकसत्र शुरू भइसकेको, यही वैशाख ११ गतेदेखि शुरू हुने गरी कक्षा १२ को परीक्षा कार्यक्रम प्रकाशित गरिएको, एसईई परीक्षाका उतरपुस्तिका परीक्षण र विद्यालय भर्ना कार्यक्रम शुरूआत हुन नसकेको र सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने अधिकार हनन भएको भनी अभिभावक संघ नेपालले आयोगको ध्यानाकर्षण गराएको पनि जनाइएको छ। आयोगले समस्या समाधानका लागि यही वैशाख ७ गते नेपाल सरकारलाई पत्राचार गरेको थियो।

पत्रमा नेपालको संविधानको धारा ३१ र ३९ द्वारा प्रदत्त बालबालिकाको मौलिक हक संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासंघसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न र कक्षा १२ को परीक्षा शान्तिपूर्वक सञ्चालन हुने वातावरण मिलाउन अनुरोध गरिएको थियो।