स्वावलम्बी अर्थतन्त्रको विकासलाई मूल उद्देश्य बनाउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले व्यापार घाटा न्यूनीकरण गर्न कृषि उपार्जन बढाउनुपर्ने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्नुपर्ने तथा पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन्।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक चुनौतीबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्ने बताएकी छन्।

बिहीबार बुटवलमा १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै उनले व्यापार घाटा निरन्तर बढिरहेको र आयातमाथि निर्भरता बिस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले आयातमाथि निर्भरता बिस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेकाले राष्ट्रिय अर्थतन्त्रले अप्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताइन्।

"एकातिर व्यापार घाटा, निरन्तर बढिरहेको छ भने अर्कोतिर आयातमाथि हाम्रो निर्भरता बिस्तार भइरहेको छ। विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप बढेको छ। यी चुनौतीबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनु पर्छ।"

राष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न कृषि उपार्जन बढाउनुपर्ने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन तथा जलविद्युत्को स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक भएको बताइन्।

उनले हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानलाई प्रेरित गर्न उद्योगी व्यवसायीसँग मिलेर काम गर्नुपर्ने बताइन्।

"हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानलाई प्रेरित गर्न उद्योगी-व्यवसायीसँग मिलेर काम गर्न आवश्यकता छ" उनले भनिन्, "यसबाट केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधार निर्माण हुनुका साथै रोजगारी उद्यमशीलताका नयाँ अवसर सिर्जना गरी पुँजी र प्रतिभाको पलायन रोक्न सकिन्छ।"

राष्ट्रपति भण्डारीले किसान र उद्योगीले राज्यको सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्। उनले मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणसँगै अन्य स्थानको खोजी गर्न आवश्यक रहेको बताइन्।