वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू

आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै पछिल्लो समय वृद्धवृद्धाहरू घरविहीन हुनुपर्ने स्थिति बन्दै गएको पनि पाइन्छ।

धरान– व्यापार, शिक्षा र पूर्वाधारको गतिशील विकास भइरहेका शहर तर त्यही शहरभित्र त्यस्ता केही अनुहारहरू छन्, जसको जीवनमा न चहलपहल छ न भविष्यका योजना नै। खासगरी बुढ्यौली उमेरमा आश्रयविहीन भएकाहरूको ठूलो संख्या अहिले परिवार छाडेर वृद्धाश्रमको चारकिल्लाभित्र निर्जीव जीवन बाँच्न विवश छन्।

७० वर्षीया इन्दिरा सुवेदी इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा विगत १४ वर्षदेखि आश्रय लिइरहेकी छन्। उनको अनुहारमा जीवनमा केही गर्न नसकेकामा पश्चाताप, निराशा, आक्रोश र कुण्ठा झल्किरहेको पाइन्छ। नजर भने हरबखत बाहिर सडकमा हिँडिरहेका मान्छेमा केन्द्रित हुन्छ। 

ती मान्छेहरूलाई हेर्दै उनी भन्छिन्, “सानै उमेरमा विवाह गरेँ, २० वर्षको उमेरमा छोरालाई जन्म दिएँ। घरमा खुसीको माहोल बेग्लै थियो। छोरालाई साथमा लिएर बिहान पसल जान्थे अनि साँझपख घर फर्किँदा घरको रौनक बेग्लै हुन्थ्यो,” उनी भन्छिन्, “तर समय निष्ठुरी र क्रुर पनि हुँदोरहेछ। ११ महिनाको कलिलै उमेरमा मेरो छोरा बित्यो। छोराको मृत्यु भएको केही समयमै अर्को बज्रपात आइलाग्यो, पतिको पनि निधन भयो। श्रीमान् बितेपछि म सहाराविहीन भएँ, र वृद्धाश्रम पुगेँ।”

शुरूमा वृद्धाश्रम भनेको कस्तो हुन्छ भन्ने थाहा नै आफूलाई थाहा नभएको उनले सुनाइन्। “सानैमा बाबाआमा पनि गुमाएकी थिएँ, श्रीमान् बितेपछि छ मेरा कोही भएनन्, एक्ली भएँ। चिनजानका केही आफन्तले सधैँ भन्ने गर्थे, आश्रम गएर बस्नू। उहाँहरूकै कुरा मानेर वृद्धाश्रम आएर बसिरहेकी छु,” उनी भन्छिन्। 

उनले अगाडि भनिन्, “मेरो परिवार कस्तो थियो भन्ने पनि बिर्सिसकेँ मैले। केही आफन्त भने मलाई कहिलेकाहीँ भेट्न आउनुहुन्छ। वृद्धाश्रम बस्न थालेपछि अहिले यही मेरो परिवारजस्तो लाग्छ। बस्नका लागि राम्रो सुविधा छ, दैनिक जीवन सहज तरिकाले बित्ने गरेको छ, अहिले मेरो लागि आश्रम नै प्यारो छ।”

अहिले १७ जना वृद्धवृद्धा बसिरहेको रामजानकी शान्ति वृद्धाश्रम २०५६ सालमा इटहरीमा खुल्यो। आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै पछिल्लो समय वृद्धवृद्धाहरू घरविहीन हुनुपर्ने स्थिति बन्दै गएको पनि पाइन्छ। सामाजिक मनोविज्ञानले वृद्धाश्रमलाई अनावश्यक ठाने पनि अहिलेको सामाजिक यथार्थले भने वृद्धाश्रमको आवश्यकतालाई औँल्याइरहेको छ र वृद्धवृद्धाहरूको आश्रयस्थल बनिरहेको छ।

विराटेश्वर वृद्धाश्रम विराटनगरमा बसिरहेकी ८१ वर्षीया सरिता गौतमको पनि उस्तै कथा छ। उनी विगत २८ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी छन्। “सकुन्जेल काम गरेँ, छोराछोरी हुर्काएँ। शिक्षा दिएँ। अहिले तिनै सन्तानले नचिनेझैँ गरे। आफ्ना छोराछोरी सन्तानका लागि जिन्दगी बिताएँ। तर अहिले तिनै सन्तानले थाँती राखेजस्तै गरे, न माया छ न सम्मान छ,” उनले भनिन्। 

गौतमको आँखामा पीडामात्र होइन, वेदना पनि प्रस्ट देखिरहेको थियो। आश्रममा आएपछि शान्ति र सुख त छ। तर मनको कुँडाइ भने अझै छ। धक खोलेर बोलिरहेकी गौतम भन्छिन्, “यो घर त हो नि तर आफ्नोपन खै कहाँ छ र? छोराछोरीले आफ्नो संसार बनाए। मलाई सबैले बिर्से अन्त्यमा, आफ्नै सन्तानले आश्रम पुर्याइदिए। माया त बाल्यकालमा मात्र रहेछ। अहिले त सबै व्यस्त छन् अनि हामीजस्ता बुढाबुढी भने बेकार जस्तै भएछौँ।”

उनलाई अहिले छोराछोरी कता छन् केही थाहा छैन। “पतिको मृत्युपछि छोराछोरीका लागि बाँचे। उनीहरूको पढाइ, विवाह सबै व्यवस्थापन गरेँ। अहिले न फोन गर्छन् न भेट्न आउँछन्। मलाई यही आश्रम अहिले सुन्दर घरजस्तो छ,” गौतमले भनिन्। 

त्यस्तै ८६ वर्षीया पवित्रा सुवेदी विगत २१ वर्षदेखि वृद्धाश्रममा बस्दै आउएकी छन्। कहिले नथाकी आफ्ना सन्तानका लागि खटिने उनी अहिले पराइझैँ ठानिएका ठाउँमा दिनहरू बिताइरहेकी छन्। प्रस्ट बोल्न र राम्रोसँग देख्न पनि नसक्ने उनका आँखाहरूले अहिले सन्तानविहीन भएर वृद्धाश्रमको ओछ्यानमा टोलाएर बाहिरको आकाश हेरिरहेका छन्।

“आफ्नै सन्तानले मलाई हेरचाह गर्न नसकेपछि आश्रम ल्याएर छाडे। कहिलेकाहीँ मलाई भेट्न छोरा आउँछ। तर अनुहार कस्तो छ प्रस्ट देख्न सक्दिनँ। पहिले घरमा छोराछोरीसँगै बसेर बिहान–बेलुकाको खानासँगै बसेर खाएको याद आउँछ,” उहाँले मनको पीडा पोखिन्। 

पछिल्लो समय विशेषगरी सहरी क्षेत्रमा व्यस्त परिवारका र विभिन्न कारणले परिवारबाट वञ्चित हुन पुगेका वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकतासमेत बढ्दै गएको छ। घरमा बसेर असुरक्षित र अमर्यादित जीवन जिउनुभन्दा वृद्धाश्रममा बस्न राम्रो भन्ने विषय आजभोलि समाजमा स्थापित हुँदै गएको रामजानकी वृद्धाश्रमका अध्यक्ष ठगेन्द्रप्रसाद आचार्यले बताए। “यो राम्रो कुरा त होइन तर सामाजिक घटना, परिवेशले आवश्यकता बढाएको छ,” उनले भने। 

शिक्षक पेसाबाट अवकाश भएपछि २०६० सालमा विराटेश्वर वृद्धाश्रम सेवा समिति खोलेर सञ्चालन गर्दै आएका जगत अर्याल पछिल्लो समय वृद्धवृद्धाहरू घरबासविहीन हुँदै गएकामा चिन्ता व्यक्त गर्छन्। वृद्धवृद्धाका दिन सम्मानपूर्वक र शान्तिका साथ बिताउन सक्नेगरी सेवा गर्न पाऊँ भनी यो आश्रम स्थापना गरी सञ्चालन गर्दै आइरहेको उनको भनाइ छ। यो आश्रममा अहिले ६० जनाभन्दा बढी वृद्धवृद्धाले आश्रय लिइरहेका छन्। 

वृद्धवृद्धाले खोजेको आत्मीयता परिवारको मायामा मात्र भेटिने इटहरी रामजानकी शान्ति वृद्धाश्रमका सञ्चालक समिति सदस्य सन्तोष ओझाले बताए। “यहाँ आमाहरूलाई निकै मायाको खाँचो हुन्छ। त्यो वृद्धाश्रममा नपाउन सकिन्छ,” उनले भने। अहिले रामजानकी आश्रममा रहेका आमाहरूको मनोबल बढाउन आश्रममा मन्दिर र ध्यान केन्द्र बनाइएको छ। 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको विवरणअनुसार कोशी प्रदेशमा ज्येष्ठ नागरिकको संख्या पाँच लाख ५६ हजार ४६४ अर्थात् प्रदेशको ११.२२ प्रतिशत रहेको छ। प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।