बाबुआमाले लछारपछार गर्दा नवलपरासीमा ४ महिने शिशुको मृत्यु

शिशुको हत्या आरोपमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु भएको छ। 

स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले सोमबार राति मादक पदार्थ सेवन गरी चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले जानकारी दिए। 

मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएको थियो। शिशुको हत्या आरोपमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।