सुख्खा पहिरो खस्दा दाउन्नेमा सवारी आवागमन अवरुद्ध

सुख्खा पहिरोका कारण यातायात अवरुद्ध हुँदा अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन्।

मध्यविन्दु– सुख्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ। 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुख्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए। 

अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन्। पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताए। दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो। त्यसैमाथि मंगलबार सुख्खा पहिरो खसेको हो। 

दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ।