कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक

गौतमले मुलुक भित्रैबाट थालेको संघर्षबाट सुरू भएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुगेको छ।

काठमाडौं- संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा ‘कुलचन्द्र गौतमः आत्मकथा’ सार्वजनिक भएको छ।



पुस्तकलाई पब्लिकेशन नेपालयले तयार पारेको हो। लेखक तथा पत्रकार गिरिश गिरीको सहयोगमा पुस्तक तयार पारिएको नेपालयले जनाएको छ। 



गौतमका भोगाइ र संघर्ष अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुने प्रकाशन संस्था नेपालयको भनाइ छ। एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जान तत्कालीन सरकारले पासपोर्ट दिन मानेको थिएन। यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रीपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समेटिएको छ। 



गौतमले मुलुक भित्रैबाट थालेको संघर्षबाट सुरू भएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुगेको छ। यसअघि पनि पब्लिकेशन नेपालयबाटै अंग्रेजीमा गौतमको जीवनी प्रकाशन भइसकेको छ। यो पुस्तक विश्व इतिहासलाई प्रभावित पारेका महत्वपूर्ण घटनाहरूमा पनि प्रवेश गरेको छ। 



राणाकालतिरै गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै बलबुताबाट राष्ट्रसंघीय मुख्यालयमा उपल्लो ओहदासम्मको यात्रा तय गरे। त्यसअघि ७० को दशकदेखि २१औँ शताब्दीको प्रारम्भसम्मै विश्व इतिहासलाई प्रभावित पारेका थुप्रै मुलुकमा राष्ट्रसंघीय निकायका प्रतिनिधि बनेर उनले त्यहाँका महिला तथा बाल अधिकार सम्बन्धि समस्याको समाधानमा जुट्ने अवसर पाएका छन्।



पुस्तक ४७२ पृष्ठ लामो छ। यसको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको छ।