फरक भूगोल र पृष्ठभूमि भए पनि, १४औँ युरोपेली संघ चलचित्र महोत्सवमा प्रदर्शन भइरहेका युरोप र एशियाली फिल्महरूले मानवीय संवेदनशीलताका साझा कथालाई प्रतिबिम्बित गरेका छन्।
काठमाडौँ– ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन?’ (थारी माइलाको बारीमा के फल्छ?) शीर्षकले एउटा प्रतिकात्मक प्रश्न खडा गर्छ– थारी माइलाको बारी किन यति उर्वर र प्रशस्त तरकारी उब्जाउ हुने खालको छ? यसको उत्तर खोज्न फिल्म अध्ययनरत पत्रिका घिमिरेको कथा, लेखन र निर्देशनमा बनेको यो लघु चलचित्र हेर्नुपर्छ।
प्रतिकात्मक शीर्षकमा बनेको यो १४ मिनेटको फिल्म ग्रामीण भेगमा हुने असुरक्षित गर्भपतनको विषयलाई गोथिक र थ्रिलर शैलीमा निर्माण गरिएको छ। सीमित समयावधिमा सामाजिक समस्याको यस्तो जटिल विषयवस्तुलाई प्रतीकात्मक ढंगले प्रस्तुतीकरण गर्नु नै यस फिल्मको सशक्त पक्ष हो।
फिल्ममा प्रमुख पात्र निर्देशक पत्रिका आफै हुन्। उनका अनुसार, आफ्नो बाल्यकालमा घटित एउटा घटनाको प्रभाव र सन्दर्भ फिल्ममा देख्न सकिन्छ। निर्देशक घिमिरेको घर संखुवासभा हो। सानो छँदा एक किशोरीको असुरक्षित गर्भपतन गराउने क्रममा निधन भएको उनले सुनेकी थिइन्।
“सायद, बाल्यकालको त्यो घटना अचेत रूपमा मभित्र गडेको थियो कि!” उनी भन्छिन्, “अझै पनि ग्रामीण भेगमा असुरक्षित गर्भपतन हुन्छ। समाजको त्यो यथार्थ बुझाउन मैले फिल्मलाई माध्यम बनाएको हुँ।"
पितृसत्तात्मक समाजमा सन्तानको ठूलो महत्त्व हुने भएकाले ग्रामीण भेगमा निसन्तान हुनुलाई जो कोही दम्पतीका लागि श्राप मानिने गरेको उनी बताउँछिन्। “यद्यपि, गर्भधारण र बाँझोपनको सम्पूर्ण दोष महिलामाथि लाग्ने गर्छ, जबकि कमीकमजोरी पुरुषमा पनि हुन सक्छ,” घिमिरे भन्छिन्, “जसलाई समाजले पचाउन सक्दैन वा भनौँ, नजरअन्दाज गरिदिन्छ।”
त्यस्तै, ‘ग्रान्डमाज् म्याजिक कोम्ब’ (बोजुको काइँयो) अर्को सरल र सुन्दर लघु चलचित्र हो। यसले घरेलु हिंसालाई बाल मनोविज्ञानको सूक्ष्म र सटिक कोणबाट देखाएको छ।
बुबाबाट पिटिएकी आमाको ढाल बालख छोरा बन्न त सक्दैन, न त आफ्नो बुबाको प्रतिकारमा नै उत्रन सक्छ। यद्यपि, उसले आफ्नी आमा हजुरआमासँग हुँदा खुशी भएको देखेको हुन्छ। हजुरआमाले आमाको कपाल कोरिदिँदा आमाको अनुहारमा छाउने कान्ति छोराले नियाल्छ।
उसलाई लाग्छ, हजुरआमाको काइँयोमा कुनै जादु छ। त्यसरी नै आमालाई स्याहार गर्न मन भएपछि ऊ हजुरआमाले कोरिदिने काइँयोको खोजीमा हुन्छ। के उसले त्यो काइँयो पाउँछ? ६ मिनेटको फिल्म यसमै केन्द्रित छ।
सम्बन्धको सूक्ष्म र भावनात्मक पक्षलाई समेटेको यो फिल्मका निर्देशक निराकारभक्त राई पनि फिल्म अध्ययनरत विद्यार्थी नै हुन्।
महोत्सवको पहिलो दिन प्रदर्शन भएको अर्को युरोपेली फिल्म हो, ‘मिल्क’। यो फिल्म बाल्यावस्थामा आफ्नी आमालाई गुमाएकी एक छोरीले आमाको बारेमा शुरू गरेको खोजबिनको कथा हो।
फिल्मले बाल्यकालमै आमा गुमाउँदा टुहुरा बालबालिकाको व्यक्तित्व विकासमा पर्ने मनोवैज्ञानिक असर र कुलतमा फस्ने कारणलाई पनि गहिरो गरी केलाएको छ।
आमाको माया अनुभव गर्न नपाए पनि अब आफै आमा बन्ने क्रममा रहेकी निर्देशक मिरान्डा स्टर्नले आफ्ना सन्तानलाई माया दिन सक्ने वा नसक्ने भन्ने आन्तरिक मनोदशालाई २७ मिनेट लामो यो फिल्ममा उतारेकी छन्।
शुक्रबार औपचारिक रूपमा शुरू भएको १४औँ युरोपेली संघ चलचित्र महोत्सव २०२५ मा फिचर र सर्ट गरी कुल २५ वटा फिल्म ठमेलस्थित छाया सेन्टरमा प्रदर्शन भइरहेका छन्। यो महोत्सव फिल्म पारखी र विद्यार्थीका लागि गम्भीर चर्चा र बहस गर्ने उपयुक्त थलो बनेको छ।
नेपालका लागि युरोपेली संघको प्रतिनिधि मण्डलले फ्रान्स, जर्मनी, फिनल्यान्डसहित विभिन्न सदस्य राष्ट्रहरूको दूतावास, सांस्कृतिक संस्थाहरू तथा ब्रिटिस काउन्सिल र युनेस्कोसँगको सहकार्यमा यो महोत्सव आयोजना गरेको हो।
आयोजकको प्रमुख उद्देश्य भौगोलिक, सामाजिक, आर्थिक र ऐतिहासिक पक्षबाट फरक रहेका युरोप र एसिया महादेशका स्थापित चलचित्रकर्मी तथा उदीयमान नेपाली चलचित्रकर्मीहरूलाई एकैसाथ ल्याएर सीमानाबिनाको सिनेमाको उल्लास मनाउनु हो।
महोत्सवको १४औँ संस्करणमा १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनीत ६ लघु चलचित्र तथा ९ नेपाली लघु चलचित्र समेटिएका छन्। यी कृतिहरूले पहिचान, अपनत्व, प्रतिरोध तथा रूपान्तरण जस्ता विषयलाई केलाएका छन्। समग्रमा, यस संस्करणमा सामेल चलचित्रहरूले हिम्मत, स्मृति तथा आशा जस्ता साझा विषयवस्तुलाई सिनेमाको भाषामा सशक्त रूपमा प्रतिबिम्बित गरेका छन्।
लोला (आयरल्यान्ड, संयुक्त अधिराज्य), द गर्ल फ्रम टुमरो (फ्रान्स तथा इटाली), द लास्ट एक्सपिडिसन (पोल्यान्ड, स्विटजरल्यान्ड) लगायतका १० फिल्म युरोपेली संघबाट छन् भने, बाफ्टा लघुचलचित्रमा मनोनीत आडिओस, मिल्क, मग्स क्रिसमस, रक पेपर सिजर्स, स्टमक बग, वान्डर टु वोन्डर प्रदर्शनी हुनेछन्।
नौ वटा नेपाली लघु चलचित्र चिसोघर, अबिस (बिनिथ द ब्लुज), अर्केस्टा, चाँदनी, इटर्नल किनशिप, ग्राण्डमाज् म्याजिक कोम्ब, साइलेन्ट स्कार्स, द काठमाडौँ, ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन हुन्।
महोत्सवमा स्थानीय (नेपाली) चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थाहरूसँगको सहकार्यमा कला, उद्योग तथा सिकाइबीचको सम्बन्ध, महोत्सव, वित्त व्यवस्थापन तथा सहनिर्माण बजारबारे मार्गनिर्देशन, चलचित्रको कथा कथनशैली, प्याकेजिङ गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चसम्म सम्पर्क स्थापना गर्ने सीप विकास गर्नका निम्ति १० नेपाली चलचित्रकर्मीका लागि चारदिने क्षमता विकास कार्यशाला पनि हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
