जब मीनाले तरकारीखेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरूले उनकै सिको गर्न थाले। महिलाहरूले पनि केही न केही पेसा/व्यवसाय गरे श्रीमान्को कमाइमा निर्भर हुनु नपर्ने उनी बताउँछिन्।
गोरखा – गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छन्। उनले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी छन्।
मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको कोइराला बताउँछिन्। “११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती शुरू गरेकी हुँ। अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु”, उनले भनिन्। तरकारीखेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उनी बताउँछिन्।
मीनाको श्रीमान् दुबईमा वैदेशिक रोजगारीमा छन्। जेठी छोरी पनि दुबईमै नर्सिङ पेसामा छिन्। “कान्छी छोरी काठमाडौँ डेन्टल पढ्छे। छोरो यो वर्ष कक्षा ९ मा पुग्यो”, उनले भनिन्, “मेरो कमाइले छोरा-छोरी पढाउन, घरखर्च चलाउन पुग्छ। जे होस् अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन।”
यतिखेर उनको बारीमा अहिले ढकमक्क बन्दागोभी छ। काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ। “बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरूको ‘सिजन’ शुरू हुन्छ। त्यसपछि प्याजको बीउ तयार गर्छु”, उनले भनिन्, “विषादी प्रयोग गर्दिनँ।”
उनका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारीखेती गर्ने चलन थिएन। जब मीनाले तरकारीखेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरूले उनकै सिको गर्न थाले। महिलाहरूले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमान्को कमाइमा निर्भर हुनु नपर्ने उनी बताउँछिन्।
उनले हालसम्म कुनै कृषि फार्म दर्ता गरी सरकारी अनुदान लिएकी छैनन्। “म आफूले जे जति सक्छु गर्छु। अरूले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दिनँ,” उनले भनिन्। उनको तरकारी बिक्री गर्ने मुख्य बजार गोरखा सदरमुकाम हो।
व्यापारीहरू तरकारी लिन मीनाको बारीमै पुग्छन्। पहिलेजस्तो बजारको समस्या नभएको उनको अनुभव छ। गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले मीनाजस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने गरेको बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
