सर्‍यो कक्षा १२ को परीक्षा, वैशाख २१ बाट शुरू हुने

राष्ट्रिय परीक्षा बोर्ड‍का अध्यक्ष डा. महाश्रम शर्माले अहिलेको परिस्थिति हेरेर वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गते सारिएको बताए।

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सार्ने निर्णय गरेको छ। मंगलबार बेलुका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षा सार्ने निर्णय भएको बताए।

उनका अनुसार वैशाख ११ गतेलाई तय कक्षा १२ परीक्षा १० दिनपछि सार्ने निर्णय भएको हो। “अहिलेको परिस्थितिलाई हेरेर पर्सीदेखि सञ्चालन गर्ने भनिएको परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने गरी नोटिस जारी गरेका छौँ,” उनले भने।

यसअघि बोर्डले निजामती कर्मचारी खटाएर तोकिएकै मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारी उक्त निर्णयबाट थप आक्रोशित बनेपछि सरकारले परीक्षा सर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरोकारवाला पक्षसँगको परामर्शका आधारमा परीक्षा सार्ने निर्णय गरिएको बताए। प्रधानमन्त्री ओलीले निर्धारित मितिमा परीक्षा सञ्चालन गर्ने नसकिने भन्दै परीक्षा सार्न बोर्डका पदाधिकारीलाई निर्देशन दिएका थिए।

विद्यालय शिक्षा ऐनको मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू २२ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन्। शिक्षकहरूको आन्दोलनबीच विद्या भट्टराईले शिक्षामन्त्रीबाट सोमबार राजीनामा दिएकी थिइन्।