जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणबाट २४ पर्यटकको मृत्यु

भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २४ पर्यटक मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन्।

भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार बन्दुकधारीको आक्रमणमा परी २४ पर्यटक मृत्यु भएको एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। जम्मु–कश्मीरमा सर्वसाधारणमाथि विगत केही वर्षयताकै सबैभन्दा ठूलो आक्रमण भएको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो आक्रमणलाई ‘क्रूर घटना’को संज्ञा दिँदै निन्दा गरेका छन्। उनले दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, “गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिएँ र घाइतेहरूमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्‍याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका देखेँ, स्थिर मृतजस्तै देखिन्थे।”

पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ। यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो।

प्रहरी स्रोतका अनुसार अहिलेसम्म २४ जनाको मृत्यु पुष्टि भइसकेको छ। मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको आकलन छ। हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन। 

मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई विगतका वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठूलो घटना भएको बताएका छन्।

गृहमन्त्री अमित शाह घटनास्थलतर्फ लागेको सञ्चारमाध्यमहरूले जनाएका छन्। साथै, उनले पनि दोषीलाई कडा सजाय दिने चेतावनी दिएका छन्।

विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले जिम्मेवारी लिनुपर्ने बताएका छन्।

सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवर्द्धन गर्दै आएको छ। सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकले कश्मीर भ्रमण गरेका थिए।

पाकिस्तानले यस्ता आक्रमणमा सहयोग गर्ने गरेको भारतले आरोप लगाउने गरेको छ। पाकिस्तानले भने कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ।

यसअघि सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो।