गर्मी बढेसँगै लेकतर्फ भेडाका बथान

पशु सेवा विज्ञ केन्द्रका अनुसार लमजुङका विभिन्न गाउँमा सानाठूला गरेर ३०० भन्दा बढी घुम्ती भेडीगोठ रहेका छन्।

लमजुङ– बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान लेकतर्फ जान थालेका छन्। 

हिउँदमा बेँसी झरेका भेडाका बथान गर्मी लागेसँगै लेक तथा हिमाली भेगतर्फ जान थालेको भेडी गोठाला कमल अधिकारीले बताए। “केही समयमा हिमालको काखमा रहेको ठूले लेकमा पुग्ने छौँ,” उनले भने। 

पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. सुनिल न्यौपानेका अनुसार जिल्लामा सानाठूला गरेर ३०० भन्दा बढी घुम्ती भेडीगोठ रहेका छन्। ती सबै बेँसीबाट लेक जान थालेका छन्। भुजुङ, सिउरुङ, घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन्। 

गर्मी यामको ६ महिना लेक र चिसो यामको ६ महिना बेँसीमा भेडीगोठ राख्ने गरिएको छ। लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय भेडी गोठाला दुरजङ गुरुङले भेडीगोठ यतिबेला लमजुङ र गोरखाको सिमना चेपेखोलाको शिरमा पुगेको जानकारी दिए। बेँसीबाट भेडाबाख्रा चराउँदै श्रीमञ्जाङबाट ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कतर्फ लागेका छन्। उनका अनुसार भेडी गोठमा सानाठूला भेडा तथा बाख्रा गरेर ८०० भन्दा बढी छन्। 

पसगाउँको भेडीगोठका बथान यतिबेला क्युबे–ल्हेदेतर्फ पुग्न थालेका स्थानीयको भनाइ छ। जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यतिबेला थुर्जुलेक खर्कतिर पुग्न थालेको छन्। लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेको भेडीगोठाला बताउँछन्। 

बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग हुन्छ। भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाइन्छ। प्रमुख डा. न्यौपानेका अनुसार जिल्लाभर २३ हजार भेडाबाख्रा छन्। 

वार्षिक १० हजार किलो ऊन निस्कने र ऊन प्रतिकिलो ३०० बिक्री हुने न्यौपानेले जानकारी दिए। वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ। मासु बिक्रीबाट ८ करोड रुपैयाँ आम्दानी हुने गरेको केन्द्रले जनाएको छ।  

गुरुङ समुदायका बस्तीमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ। यहाँ उत्पादित भेडाको ऊन र ऊनबाट बनाइएका विभिन्न सामग्रीको बजारमा उच्च माग रहेको छ।