एओसी ट्रम्पको खरो आलोचक हुन्। डेमोक्रेटहरूले ट्रम्पविरूद्ध बोल्ने एक बलियो र इमानदार आवाज भेटेका छन्। उनी आफ्नै पार्टीको पनि प्रखर आलोचक हुन्, तर उनलाई त्यहाँ ठूलो सहयोग छ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट पार्टीले यस पटक रिपब्लिकनसँग हार खेप्नुपरो। कमला ह्यारिसलाई हराएर डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुगे। अपेक्षा विपरीतको नतिजा हात परेपछि डेमोक्रेटहरूले आफूलाई पराजित मात्र होइन, अत्यन्त कमजोर पनि महसुस गरे।
डेमोक्रेटको अहिलेको मनोदशालाई ‘द गार्जियन’ले सन् १९८८ को राष्ट्रपति निर्वाचनसँग तुलना गरेको छ। त्यति बेला डेमोक्रेट उम्मेदवार लगातार तेस्रो पटक राष्ट्रपति निर्वाचनमा पराजित भएका थिए। रिपब्लिकनका रोनाल्ड रेगन दुई कार्यकाल र जर्ज डब्लु बुस एक कार्यकाल राष्ट्रपति भए। एकपछि अर्को हारले डेमोक्रेटलाई सिथिल बनायो। उनीहरूले नेतृत्वको रिक्तता महसुस गरे।
यही निराशाका बीच अर्कान्साका तत्कालीन गभर्नर बिल क्लिन्टनले राजनीतिक गतिविधि बढाए। सन् १९९२ को निर्वाचनमा बुसलाई हराउँदै उनी अमेरिकाको ४२औँ राष्ट्रपतिमा निर्वाचित भएका थिए।
अहिलेको अमेरिकी राजनीति ठ्याक्कै सन् ८० को दशकजस्तो भने छैन। रिपब्लिकनले लगातार जितेको अवस्था पनि होइन, ट्रम्प आउनुअघि डेमोक्रेटकै शासन थियो। जो बाइडेन राष्ट्रपति थिए। तर अहिलेको पराजयले डेमोक्रेटभित्र नेतृत्वको संकट महसुस गरिएको छ, जुन संकट त्यति बेला पनि महसुस गरिएको थियो।
डेमोक्रेटले गत निर्वाचन अगाडिदेखि नै यस्तो संकट भोगिरहेको थियो। पार्टीभित्रै जो बाइडेन र कमला ह्यारिस दुवै जना राष्ट्रपतिको उम्मेदवारका निम्ति उपयुक्त पात्र थिएनन् भन्नेहरू प्रशस्त थिए। निर्वाचनको प्रतिस्पर्धाबाट बाइडेन ढिलो बाहिरिँदा पनि डेमोक्रेटभित्र अन्य प्रतिस्पर्धीको खोजी हुन समय भएन।
डेमोक्रेटभित्र आफूलाई नेतृत्वमा स्थापित गर्न खोज्नेहरू प्रशस्त छन्। जस्तो– पेन्सिलभानियाका गभर्नर जस शपिरो, मिशिगनका गभर्नर ग्रेचन विटमर, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसम र बाइडेनकै ‘ट्रान्सपोर्टेसन सेक्रेटरी’ पिट बुडचिच। यही बीचमा अलेजान्द्रिया ओकाशियो–कोर्टेजले पनि आफ्नो राजनीतिक गतिविधिलाई सक्रिय बनाइरहेकी छन्।

उनलाई डेमोक्रेटभित्र आगामी नेतृत्वको रूपमा हेर्न थालिएको छ। कतिपयले सिनेटर र कतिपयले राष्ट्रपतिको उम्मेदवार हुनेसम्मको सम्भावना देख्छन्। यी ३५ वर्षिया राजनीतिकर्मी एओसी नामबाट परिचित छिन्। उनी अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ’ सदस्य हुन्।
एओसी यतिबेला सडक र सदनबाट सत्तालाई प्रश्न गरिरहेकी छन्। सिनेटर बर्नी स्यान्डर्ससँग अमेरिकाका विभिन्न कार्यक्रममा उनलाई देख्न पाइन्छ। उनीहरूले विभिन्न ठाउँमा र्याली आयोजना गरेका छन्। उनीहरूको यो अभियानको नाम हो– फाइटिङ ओलिगार्की। उनीहरूका कार्यक्रममा हजारौँको उपस्थिति हुन्छ। त्यस्ता भीडमा विशेषगरी नयाँ पुस्ताको अनुहार भेटिन्छ।
कतिपयले एओसीलाई निकट भविष्यमा अमेरिकी राजनीतिको उच्च पदका निम्ति दाबेदार अनुहार मानेका छन्। बर्नी स्यान्डर्स र एओसीलाई डेमोक्रेटभित्र पनि थप प्रगतिशील विचारधारा बोक्ने नेता मानिन्छ। दुवैले एकपछि अर्को राजनीतिक क्रार्यक्रम गरिरहँदा कतिपयले स्यान्डर्स पुनः राष्ट्रपतिको निर्वाचनमा उठ्न थालेका हुन् कि भनेर लख काट्छन्। तर ८३ वर्ष पार गरिसकेका उनले त्यस्तो संकेत दिएका छैनन्।
स्यान्डर्सले अर्बपतिहरूलाई बढी कर लगाउने, न्यूनतम ज्याला बढाउने र कामदारहरूलाई सहयोग गर्ने मुद्दा उठाउँदै आएका छन्। द न्युयोर्क टाइम्सले भनेको छ, “लगभग २० जना प्रगतिशील डेमोक्रेटसँगको अन्तर्वार्ताले देखाउँछ कि धेरैले बर्नी स्यान्डर्सले अगाडि सारेका विचारलाई भविष्यमा डेमोक्रेटले आत्मसाथ गर्नुपर्छ।”

डेमोक्रेटभित्र प्रोग्रेसिभ राजनीति गरिरहेका स्यान्डर्सको उत्तराधिकारी को हुन् त भन्ने प्रश्न पनि उब्जिएको छ। यसबारे स्पष्ट सहमति नभए पनि धेरैले एओसीको नाम लिने गरेको न्युयोर्क टाइम्स बताउँछ।
स्यान्डर्सले गत मार्चमा डेन्भरमा भएको एक कार्यक्रममा एओसीको खुलेर तारिफ गरेका थिए। कार्यक्रममा लगभग ३४ हजार मानिसको उपस्थिति थियो। स्यान्डर्सले एओसीको काँधमा हात राख्दै भनेका थिए, “उनी लाखौँ युवाको लागि प्रेरणा बनेकी छन्।” त्यसपछि भिडमा लयात्मक नारा सुनिएको थियो– एओसी, एओसी, एओसी...।
एओसीले हरेक कार्यक्रममा उल्लेखनीय भीड आकर्षित गरेको बताउँछन्, स्यान्डर्सका राजनीतिक सल्लाहकार फैज शाकिर। उनले एनबीसी न्युजसँग भनेका छन्, “मानिसलाई एओसी मन परोस् या नपरोस्, यसले केही फरक पार्दैन। एओसीले के भन्छिन् भन्ने कुरामा मानिसको रुचि छ।”
मिसौला मन्टानाको गत अप्रिल १६ मा भएको कार्यक्रममा एओसी र स्यान्डर्सको भाषण सुन्न ठूलो भीड जम्मा भएको थियो। सात हजार मानिसको क्षमता भएको हलमा कोचाकोच थिए। एक हजारभन्दा बढीले हल बाहिर उभिएर कार्यक्रम सुनेका थिए। उनले अमेरिकी राजनीतिमा अर्बपतिहरूको अत्याधिक प्रभावका विरूद्ध बोलेकी थिइन्। राष्ट्रपति ट्रम्प र एलोन मस्कले महत्त्वपूर्ण सरकारी कार्यक्रम र सेवाहरूमा गरेको बजेट कटौतीको पनि आलोचना गरेकी थिइन्।
मन्टानामा उनको भनाइ थियो, “सरकारको अनुचित काम र भ्रष्टाचार विरुद्ध लड्ने हाम्रो सबैभन्दा बलियो हतियार समुदाय हो।” समुदाय सक्रिय हुँदा मात्र सबैको स्वास्थ्य सेवा, ज्याला र आवास सुनिश्चित हुने र जलवायु संकटमा काम गर्न सकिने उनले बताएकी थिइन्।
एओसीले जलवायु परिवर्तन, स्वास्थ्य सेवा, श्रमिक वर्गको हक अधिकारलगायत अन्य प्रगतिशिल मुद्दाका पक्षमा नयाँ पुस्तासँग संवाद गरिरहेकी छन्। उनी सोसल मिडियामा समेत सक्रिय छिन्। अमेरिकामा राष्ट्रपतिको अर्को निर्वाचनसम्म जेन जी र मिलेनियल्स पुस्ताले कुल भोटरको आधाभन्दा बढी हिस्सा ओगट्ने बताइन्छ। मतादाताको यस्तो अकंगणितले पनि एओसीको राजनीतिलाई थप मदत पुग्नसक्छ।

कंग्रेसमा उनको शुरूआती विजयको प्रसंग उल्लेख गर्दै डेभिड फ्रिडल्यान्डरले ‘द एओसी जेनेरेसन’ पुस्तकमा लेखेका छन्, “जब ओकासियो–कोर्टेजले जितिन्, उनी नयाँ पुस्ताको प्रतीक बनिन्। उनी एक गर्विलो लोकतान्त्रिक समाजवादी, अश्वेत र कांग्रेसमा निर्वाचित सबैभन्दा कान्छी महिला थिइन्। उनले ऊर्जाका साथ बोलिन् र सामाजिक सञ्जाल प्रयोग गरिन्, जसरी धेरैजसो राजनीतिज्ञहरूले गर्दैनथे।”
टाइम म्यागजिनले उनलाई सन् २०१९ मा विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समेत राखेको थियो। सन् २०२१ को एक अन्तर्वार्तामा नोम चोम्स्कीले समेत एओसीको प्रसंशा गरेका थिए। लरा फ्लेन्डरले चोम्स्की र एओसीसँग लिएको युट्युब अन्तर्वार्तामा चोम्स्कीले भनेका थिए, “एओसी, तपाईंले गरिरहनुभएको कामको म साँच्चै प्रशंसा गर्छु। मैले तपाईंको कामलाई नजिकबाट नियालिरहेको छु। यहाँ तपाईंसँग हुन पाउनु खुशीको कुरा हो।”
एओसी ट्रम्पको खरो आलोचक हुन्। डेमोक्रेटहरूले ट्रम्पविरूद्ध बोल्ने एक बलियो र इमानदार आवाज भेटेका छन्। उनी आफ्नै पार्टीको पनि प्रखर आलोचक हुन्, तर उनलाई त्यहाँ ठूलो सहयोग छ। डेमोके्रटिक सांसद, कर्मचारी र सल्लाहकारहरूले मिडियासँगको अन्तर्वार्तामा एओसीको तारिफ गरेका छन्। ‘पोलिटिको’सँगको कुराकानीमा तल्लो सभाकी सांसद जुडी चुले एओसीबारे भनेकी छन्, “उनी असाध्यै प्रभावकारी ढंगले आफ्ना कुरा राख्छिन्। र यो चुनावबाट मानिसहरूले निकालेको निष्कर्ष हो– हामीसँग प्रभावकारी म्यासेन्जर रहेनछन्।”

उनी प्रष्ट वक्ता हुन्। आक्रामक शैलीमा भाषण गरेर माहोल तताउन खप्पिस छिन्। उनले डेमोक्रेट नेसनल कंग्रेसको सन् २०२० र २०२४ मा दिएको भाषणको आजसम्म प्रसंशा हुन्छ। विगतमा ‘बारटेन्डिङ’को काम गरेकी एओसीले सन् २०२४ मा भनेकी थिइन्, “म निर्वाचित भएदेखि नै रिपब्लिकनहरूले मलाई बारटेन्डिङमा फर्क भन्दै आक्रमण गरेका छन्। तर म तपाईंलाई भन्न चाहन्छु, म हप्ताको कुनै पनि दिन यो काम गर्न राजी छु। किनभने, जीविकोपार्जनका लागि काम गर्नु गलत होइन।”
यी प्रगतिशील कंग्रेसी महिलाले केवल वामपन्थी पक्षको लागि मात्र नबोलेर समग्र पार्टीका लागि बोलिरहेको ‘द एटलान्टिक’ बताउँछ। अगस्ट २०२४ मा प्रकाशित एक समाचारमा एटलान्टिकले भनेको छ, “यदि, ओकासियो–कोर्टेज आफ्नो बाटोमा लागिरहिन् र पार्टी झगडामा फस्नबाट जोगिइन् भने, अन्य राजनीतिक नेताहरूले एओसीलाई उनीहरूको खाँचो होइन, उनीहरूलाई चाहीँ एओसीको खाँचो छ भन्ने दिन पनि आउँछ।”
बोस्टन विश्वविद्यालयबाट अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेकी एओसीले २०१६ को राष्ट्रपति चुनावमा साउथ ब्रोंक्समा बर्नी स्यान्डर्सको लागि स्वयंसेवी भएर काम गरेकी थिइन्। उनी राजनीतिमा सक्रिय भएको यही समयबाट हो। जनवरी २०१९ मा उनले अमेरिकी कंग्रेसमा सेवा गर्ने सबैभन्दा कान्छी महिला र सबैभन्दा कान्छी ल्याटिनाको रूपमा शपथ ग्रहण गरिन्। यो उनको पहिलो कार्यकाल थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
किरण दहाल
