नेपालमा पछिल्लो एक महिनामा ४८ जना संक्रमित फेला परे पनि ओमिक्रोनको सबभेरियन्ट बीएफ–७ भने नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, मास्क लगाएर हिँड्न र सजक रहन आग्रह गरेको छ।
काठमाडौँ– छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेसँगै नेपालमा पनि पुनः फैलनसक्ने जोखिम बढेको छ। चीन र भारतमा ओमिक्रोनको सबभेरियन्ट बीएफ–७ देखिन थालेको हो।
चीनमा कोरोना महामारी पुनः सक्रिय हुन थालेपछि अन्य मुलुक पनि प्रभावित हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। भारतमा ओमिक्रोनको सबभेरियन्ट बीएफ–७ भेटिएको छ। नेपालमा अहिलेसम्म यो सबभेरियन्ट नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्लो एक महिनामा विभिन्न ठाउँबाट नमूना संकलन गरिएका ४८ जना संक्रमित भेटिएका छन्। कोभिड–१९ को संक्रमण फरक स्वरूपमा देखिन थालेको विज्ञप्तिमा जनाइएको छ। मन्त्रालयले नेपाल प्रवेश विन्दुका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाहरूलाई निगरानी राख्न र सतर्कता अपनाउन पनि आग्रह गरेको छ। सर्वसाधारणलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गरेको छ।
कोरोना संक्रमण वृद्धि हुनु नौलो विषय नभए पनि संक्रमण के कारण र कसलाई भयो भन्ने महत्त्वपूर्ण हुने सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन्। “छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको संक्रमण कुन उमेर समूह र कस्ता व्यक्तिलाई लागेको हो बुझन् आवश्यक छ”, उनी भन्छन्, “मेरो अध्ययन अनुसार, चीनमा ६० प्रतिशतभन्दा बढीले खोप लगाएका छैनन्। त्यसमा पनि ज्येष्ठ नागरिक धेरैले खोप लगाएका छैनन्।”
त्यस्ता मानिस मात्र संक्रमित भएको भए खोप नलगाएका नेपालीको पहिचान गरी लगाउनु पर्ने उनी बताउँछन्। यद्यपि, नेपालमा करिब ८० प्रतिशतले खोप लगाइसकेको सरकारी दाबी छ।
चीन र भारतमा खोप लगाएकालाई पनि संक्रमण देखिएको भए नेपालमा पनि सर्तकता अपनाउनु पर्ने डा. पुन बताउँछन्। यसको लागि छिमेकी मुलुकमा भएको संक्रमणलाई नजिकबाट नियालेर रणनीति बनाउनु पर्ने उनको भनाइ छ। भारत र चीनमा प्रयोग भएकै भेरोसिल्ड र कोभिसिल्ड खोप नेपालमा पनि अधिकांशले लगाएका छन्।
चीनभन्दा पनि भारतमा कस्तो प्रभाव पार्छ सोही अनुसारको रणनीति बनाउनु पर्ने डा. पुनको जोड छ। “हाल फैलिएको भेरियन्ट ओमिक्रोनअन्तर्गतकै सब भेरियन्ट हो। ओमिक्रोन छिटो सर्ने, तर डेल्टाको तुलनामा कम हानिकारक थियो”, उनी भन्छन्, “यद्यपि, हङकङमा ओमिक्रोनकै कारण विशेषतः वृद्धवृद्धाको मृत्यु भएको घटनालाई पनि नकार्न मिल्दैन।”
गएको दशैँसम्म नेपालमा एक्सबीबी भेरियन्ट फैलिएको थियो। उक्त भेरियन्ट निकै चाँडो फैलिने प्रकारको थियो। तर, धेरै हानिकारक थिएन।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर भारतमा हुने कोरोना संक्रमणको प्रभाव नेपालमा पनि पर्ने बताउँछन्। उनका अनुसार अहिले दैनिक हजारदेखि १५ सय कोरोना संक्रमण जाँचमा दुई–तीन जना संक्रमित मात्र भेटिने गरेका छन्। केही दिनअघि शून्य संक्रमण रहेको समेत उनले बताए। चीन र भारतमा जस्तो नेपालमा कोरोना नफैलिए पनि भारतको प्रभाव पर्ने हुँदा सजक रहनुपर्ने उनी बताउँछन्।
सीमानाका र विमानस्थलमा कडाइ गरे पनि भारतबाटै नेपालमा संक्रमण फैलने गरेको छ। तर, मन्त्रालय यसपटक सर्तक र तयारी अवस्थामा रहेको डा. ठाकुर बताउँछन्। आइसोलेसन वार्ड, कोभिड अस्पतालदेखि कोरोना उपचारका लागि मन्त्रालय सर्तक र सचेत रहेको ठाकुरको भनाइ छ।
भारतले थाल्दै विमानस्थलमा नमूना संकलन
भारतमा कोभिड संक्रमण तीव्र बनेपछि स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालिएको छ। भारतीय स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले बिहीबार संसद्मा बोल्दै विमानस्थलमा यात्रुहरूबाट नमूना संकलन गरिने बताएका छन्। यसरी नमूना संकलन गरिएका यात्रुमा कोरोना पोजेटिभ देखिए बोलाएर उपचार थालिने उनले जानकारी दिए।
स्वास्थ्यसम्बन्धी कडा नियम लागू भए पनि अनिवार्य भने नगरिएको स्वास्थ्यमन्त्री मान्डवियाको भनाइ छ। अन्य मुलुकहरूबाट आउने उडान रोक्ने विषयमा भारत सरकारसँग योजना नभएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
चाडबाड नजिकिएकाले मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न र सामाजिक दूरी कायम गर्न उनले आग्रह गरे। उनको भनाइ इशाई धर्मावलम्बीको क्रिसमस र नयाँ वर्ष लगायत चाडलाई लक्षित गरेर आएको हो।
यसअघि भारतीय डाक्टरको टोलीले सरकारलाई मास्क अनिवार्य गर्न र नागरिकलाई विदेश भ्रमणमा रोक लगाउन आग्रह गरेको थियो। भारत र चीनमा फैलिएको बीएफ–७ सबभेरियन्ट अमेरिका, बेलायत, बेल्जियम, जर्मनी, फ्रान्स, डेनमार्कसहित थुप्रै युरोपेली देशमा फैलिएको पुष्टि भइसकेको छ।
चीनका अस्पतालमा संक्रमितको चाप
चीनमा संक्रमण तीव्र बनेसँगै त्यहाँका अस्पतालहरूमा चाप बढेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। चीनका सरकारी अधिकारीहरूले संक्रमणदर कम भएको बताए पनि त्यहाँका अस्पतालमा इन्टेन्सिभ केयर युनिट (आईसीयू) हरूमा चाप बढेको डब्लुएचओका प्रतिनीधि डा. मिखाइल रायनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
चिनियाँ सरकारी आँकडामा आईसीयुमा भर्ना भएको संख्या कम देखिए पनि वास्तवमा त्यो संख्या धेरै रहेको डा. रायन बताउँछन्। महामारीलाई रोक्न कोभिडविरूद्धको खोप नै मुख्य रणनीति हुनुपर्ने उनको जोड छ।
जर्मनीले बुधबार चीनलाई पहिलो चरणको कोभिडविरूद्धको बायोटेक खोप उपलब्ध गराएको छ। चीनमा कोभिड–१९ विरूद्ध प्रयोगका लागि कुनै पनि विदेशी खोप पुगेको यो पहिलो पटक हो। जर्मनीले कति खोप पठायो भन्नेबारे खुलाइएको छैन।
पछिल्ला केही दिनयता बेइजिङ र अन्य शहरहरूमा संक्रमणदर बढेको बीबीसीले उल्लेख गरेको छ। सन् २०२० पछि चीनले कोभिड–१९ विरूद्ध शून्य सहनशीलताको नीति अपनाएको थियो। तर, कडा मापदण्डप्रति विरोध जनाउदै प्रदर्शन चर्किन थालेपछि सरकारले दुई साताअघि स्वास्थ्य मापदण्ड खुकुलो पारेको थियो। त्यसपछि भने संक्रमणदर तीव्र बनेको र वृद्धवृद्धाको मृत्युदर बढाउने जोखिम भएको बीबीसीले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
