रघुजी पन्त शिक्षामन्त्री नियुक्त

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पाैडेलले बुधबार रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्।

फाइल तस्वीर

काठमाडाैँ– राष्ट्रपति रामचन्द्र पाैडेलले एमाले नेता रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पाैडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। शपथग्रहण भने भोलि हुने बताइएको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरिएको हो।

शिक्षकहरूको आन्दोलनका बीच विद्या भट्टराईले गत सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन्। त्यसपछि रिक्त पदमा प्रधानमन्त्री ओलीले नयाँ शिक्षामन्त्री कसलाई बनाउने हुन् भन्नेमा विभिन्न व्यक्तिको नाम जोड्दै चर्चा हुन थालेको थियो।

ओलीले आजै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पनि बर्खास्त गरेका छन्। उनको ठाउँमा भने अरु कसैलाई राखिएको छैन।