मुस्ताङको च्यांग्रा फार्म: नश्ल सुधारका साथै अनुसन्धानस्थल बन्दै

स्थानीय उपभोक्ता समितिमार्फत च्यांग्रा फार्म नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

मुस्ताङ– लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्यांग्रा फार्म सञ्चालन भएको छ। फार्म च्यांग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

च्यांग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित ६०० च्यांग्रा छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा च्यांग्राको पश्मिना उत्पादन, नश्ल सुधारका निम्ति स्रोत केन्द्र स्थापना भएको हो।

हिमाली आयोजनाले स्रोत केन्द्र स्थापना गरेको केही समयपछि अलपत्र परेको केन्द्र स्थानीय उपभोक्ताले सम्हालेका हुन्। राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन केन्द्रले एक जना फार्म व्यवस्थापकसहित पाँच जना गोठाला, एक जना पशु प्राविधिकको व्यवस्था गरेको छ।

केन्द्रका जनशक्ति व्यवस्थापन तलबभत्ता उपलब्ध गराउनेदेखि च्यांग्रालाई चाहिने दाना, घाँस, औषधि-उपचारलगायत उपकरणको व्यवस्था सरकारले गरेको छ। आठ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रका लागि कार्यालय स्थापना तथा फार्म निर्माण गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरेको पशु प्राविधिक धीरज बरुवालले बताए।

केही स्थानीय र केही तिब्बती च्यांग्रा ल्याएर च्यांग्रापालनको नश्ल सुधार गरी पश्मिना उत्पादन तथा प्रवर्द्धनमा जोड दिने गरी स्थापना भएको फार्ममा पाठापाठी हुर्किरहेका छन्। केन्द्रमा बर्सेनि १५० भन्दा बढी च्यांग्राको पाठापाठी उत्पादन हुने गरेका छन्।