नहर मर्मत गर्न भारतीय पक्षले पानी बन्द गर्दा गण्डक जलविद्युत् केन्द्रको उत्पादन रोकियो

भारतले जलविद्युत् केन्द्रको नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन डेढ महिनादेखि रोकिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए।

नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि बन्द रहेको बताए।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक ब्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन बन्द भएको छ। भारतले जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन) गरेपछि विद्युत् उत्पादन रोकिएको उनले बताए। गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले बताए।

लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन रहेको छ। नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो। करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ। 

यसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताए। भारतीय पक्षले हरेक वर्ष कात्तिक–मंसिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गरेको छ। यसले गर्दा नेपाललाई घाटा हुने गरेको उनले बताए।

नहरमा पानी बन्द भएर विद्युत् ठप्प भएपछि दिनहुँ सातदेखि आठ लाखसम्म घाटा हुने गरेको प्रमुख भुसालले जानकारी दिए। १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले चारदेखि साढे चार मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ। तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनबाट मात्र विद्युत् उत्पादन  भइरहेको छ भने एउटा टर्वाइन बिग्रेर थन्केको छ। गण्डक जलविद्युत् केन्द्रमा रहेको विद्युतीय उपकरण पुरानो प्रविधिअनुसार रहेको हुनाले परिवर्तन गरी सुधार गर्नुपर्ने देखिएको उनले बताए।