नेप्से परिसूचकमा ४ दिनपछि सामान्य अंकको वृद्धि

बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा कायम भएको छ भने सात अर्ब ८७ करोड बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजारमा अन्तिम दिन भने बढेको छ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा कायम भएको हो।

विभिन्न ३०८ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८.२८ को कारोबार भएको छ। कुल ८३ कम्पनीको शेयर मूल्य बढ्दा १६१ को घटेको छ भने एउटाको स्थिर रहेको नेप्सेले जनाएको छ। 

यस दिन लगानी समूह सबैभन्दा बढी २.४ प्रतिशतले बढ्दा हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशतले बढेका छन्। 

विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशतले घटेका नेप्सेले जनाएको छ।